लुम्बिनीका पहाडमा बढ्दो मानव-वन्यजन्तु द्वन्द्व : कतै हेरालु त कतै काँडेतार

लुम्बिनीका पहाडमा बढ्दो मानव-वन्यजन्तु द्वन्द्व : कतै हेरालु त कतै काँडेतार

बुटवल : गुल्मीको धुर्कोट गाउँपालिका-५ की हुमकला भण्डारीको बाली जोगाउन खेतमा थापिएको विद्युतीय धरापमा परेर ज्यान गयो। गत असारमा भण्डारीको परिवारले बँदेलबाट मकै जोगाउन खेतमा विद्युत् प्रवाह हुने तार राखेको थियो। त्यही तारमा परेर हुमकलाको मृत्यु भएको हो।

मुसिकोट नगरपालिका-७ की चन्द्रकला कुमालको पनि बाँदर धपाउन खेतमा राखिएको विद्युतीय तारमा परेर मृत्यु भयो। २०८१ चैतमा बाँदर धपाउन राखेको विद्युतीय तारमा परेर उनको ज्यान गएको थियो। गुल्मीका यी प्रतिनिधि घटनाले पहाडी गाउँमा वन्यजन्तुबाट जोगिन किसानहरूले अपनाइरहेको उपाय कति जोखिमपूर्ण बन्दै गएका छ भन्ने देखाउँछ।

गुल्मीमा मात्रै यो समस्या छैन। लुम्बिनी प्रदेशका पहाडी जिल्लामा बाँदर, बँदेल, दुम्सी, मृग, चितुवा लगायतका वन्यजन्तुले बालीनाली र पशुधनमा क्षति पुराउने क्रम बढिरहेको छ। प्रदेश सरकारले सार्वजनिक गरेको अध्ययनले पनि बाँके, बर्दिया, दाङ, अर्घाखाँची, गुल्मी, प्युठान, रुपन्देही र रुकुम पूर्वमा मानव-वन्यजन्तु द्वन्द्वलाई प्रमुख समस्याका रूपमा पहिचान गरेको छ।

प्रदेशमा द्वन्द्वको असर मानवीय क्षतिसम्म पुगेको तथ्यांकले पनि देखाउँछ। अघिल्लो वर्षको ६ महिनामा मात्रै लुम्बिनी प्रदेशमा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु र १४ जना घाइते भएको प्रदेश वन तथा वातावरण मन्त्रालयको तथ्यांक छ। यही अवधिमा ९७ वटा घरपालुवा पशुचौपाया मारिएका थिए।

दिनमा बाँदर, राति बँदेल
अर्घाखाँचीका पहाडी गाउँमा किसानको दिन र रात दुवै वन्यजन्तुको निगरानीमै बित्ने गरेको छ। दिनको समयमा बाँदरको समूह मकैबारी पस्छ। साँझ परेपछि बँदेलको डर सुरु हुन्छ।

मकै, कोदो, आलु, तरकारी, फलफूलदेखि मसलाबालीसम्म वन्यजन्तुको निशानामा पर्ने गरेका छन्। बल्कोटका कृषक पीताम्बर खनालका अनुसार गाउँमा खेती गरेर बस्नसमेत कठिन हुँदै गएको छ।

"बाँदर र बँदेलको समूहलाई एक्लो मान्छेले धपाउनै सक्दैन। खेतबारी मात्र होइन, कहिलेकाहीँ घरभित्र पसेर पकाएको खाना र लत्ता कपडासमेत नोक्सान गर्छन्," उनले भने।

अर्घाखाँचीमा समस्या यति बढेको छ कि वन कार्यालयले एकातिर बाली जोगाउन हेरालु परिचालन गरिरहेको छ भने अर्कोतिर बँदेलको संख्या नियन्त्रणका लागि कानुनी प्रक्रियाबाट सिकार अनुज्ञापत्र दिने तयारीसमेत अघि बढाएको छ।

गत वर्ष २० जना हेरालुलाई तीन महिनाका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको थियो। उनीहरूले बाँदरको गतिविधि निगरानी गर्ने, किसानलाई बाली जोगाउने उपायबारे जानकारी दिने र वन्यजन्तुलाई खेत तथा बस्तीमा प्रवेश गर्न नदिन सहयोग गर्ने काम गरेका थिए।

चालु वर्ष पनि जिल्लाका २६ वटा अति प्रभावित क्षेत्रमा हेरालु परिचालन गरिएको छ। यस पटक २६ जना हेरालु छनोट गरेर उनीहरूलाई दुई महिनाका लागि परिचालन गरिएको थियो।

अर्घाखाँची जिल्लाका २२ स्थानलाई बँदेल प्रभावित क्षेत्रका रूपमा पहिचान गरिएको छ। कानुन अनुसार बँदेल, रातो मृग र चित्तलको सिकारका लागि आवेदन मागिएपछि २९ जनाले बँदेल सिकारको अनुज्ञापत्रका लागि आवेदन दिएका थिए। तीमध्ये जिल्ला भित्रका तीन जना मात्र थिए।

वन कार्यालयका अनुसार अनुज्ञापत्रका लागि सात हजार रुपैयाँ र एउटा बँदेल मारे बापत पाँच हजार रुपैयाँ राजस्व तिर्नुपर्नेछ। एक व्यक्तिले वर्षमा बढीमा दुई वटा बँदेल मार्न पाउने व्यवस्था छ। सिकारका लागि प्रभावित क्षेत्र, समय र अन्य सर्त वन कार्यालय र जिल सुरक्षा समितिको समन्वयमा तोकिनेछ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका वन अधिकृत केशर खड्काले यसको उद्देश्य वन्यजन्तु संरक्षण र किसानको बाली संरक्षणबीच सन्तुलन खोज्नु रहेको बताए। "कृषकको बाली जोगाइदिनु राज्यको दायित्व। वन्यजन्तुको संरक्षण पनि र कृषकको बाली दुवै राज्यले संरक्षण गर्नुपर्छ," उनले भने।

तर सिकारको अनुमति दिने प्रक्रिया अगाडि बढाउँदा अर्को व्यवहारिक समस्या देखिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अर्घाखाँचीमा हातहतियारको पुरानो लाइसेन्स भएका व्यक्ति चार जना मात्र छन्। नयाँ हतियारको लाइसेन्स दिने कानुनी व्यवस्था नभएकाले आवेदन दिएका सबैले सिकार गर्न पाउने अवस्था छैन।

क्षति छ, राहत पनि छ तर किसान सम्म पुग्न कठिन
वन्यजन्तुबाट हुने क्षतिको राहतका लागि सरकारले ‘वन्यजन्तु बाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८०’ लागू गरेको छ।

निर्देशिकाले वन्यजन्तुको आक्रमणबाट सामान्य घाइते लाई बढीमा २० हजार, गम्भीर घाइते लाई उपचार खर्च सहित बढीमा दुई लाख, जीवनभर अशक्त हुने गरी अंगभंग भएमा पाँच लाख र मृत्यु भएमा नजिकको हकवालालाई १० लाख रुपैयाँ सम्म राहतको व्यवस्था गरेको छ।

ठूला पशु चौपायाको मृत्युमा मूल्यांकनका आधारमा बढीमा ६० हजार तथा अन्य पशुधनमा बढीमा १० हजार रुपैयाँसम्म राहतको व्यवस्था छ। बाली क्षति भएमा मूल्यांकनका आधारमा एक मौसममा बढीमा १० हजार रुपैयाँ सम्म राहत दिन सकिने व्यवस्था छ।

पाल्पामा किसान होइन, हेरालु बारी कुर्छन्
अर्घाखाँचीले हेरालु परिचालन सँगै बँदेल सिकारको विकल्प रोज्दै गर्दा पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाले भने हेरालु र काँडेतार लाई प्राथमिकता दिएको छ।

दुई वर्षअघि सम्म ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारी पुग्थे। दिनभरि बाँदर धपाउँथे। साँझ परेपछि बँदेल, दुम्सी र मृगबाट मकै जोगाउने चिन्ता हुन्थ्यो। कतिपय किसान राति समेत बारीमै बस्नुपर्ने अवस्थामा थिए।

अहिले भने वडा कार्यालयले किसानको सट्टा हेरालुलाई बारीको निगरानीमा खटाएको छ। साउन-भदौमा नौ जना हेरालु बिहान ५ बजेदेखि राति ८ बजेसम्म मकैबारी क्षेत्रमा खटाइएको थियो। उनीहरूले बाँदर धपाउने र वन्यजन्तुको गतिविधि निगरानी गर्ने गरेका थिए।

यससँगै बारी वरिपरि काँडेतारको जाली लगाइएको छ। अघिल्लो आर्थिक वर्षमा धैरेनी क्षेत्रमा करिब १६० मिटर लामो र सात फिट अग्लो जाली लगाइएको थियो। त्यसको प्रभाव देखिएपछि चालु आर्थिक वर्षमा थप ५०० मिटर क्षेत्रमा जाली विस्तार गर्ने योजना बनाइएको छ।

हेरालु र जाली लगाएपछि बाली जोगाउन किसानले दिनभरि बारी कुर्नुपर्ने बाध्यता घटेको वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। "रातिको समयमा बँदेल, दुम्सी, मृग लगायतका जनावरलाई बारीमा प्रवेश गर्न रोक्न जाली प्रभावकारी भएको छ," उनले भने।

वन्यजन्तुको वासस्थान खुम्चिनु, वन क्षेत्रमा मानवीय गतिविधि बढ्नु र वन्यजन्तुको आहारा तथा आवतजावतका मार्गमा अवरोध हुनुले मानव-वन्यजन्तु द्वन्द्व बढिरहेको छ।

कात्तिक २, २०८३ सोमबार ०८:१२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।