कार्यकाल सकिनु नौ महिनाअघि नै इसिबी प्रमुख लेगार्डले पद छाड्ने
एजेन्सी : युरोपेली केन्द्रीय बैंक(इसिबी)की अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो आठवर्षे निर्धारित कार्यकाल सकिनुभन्दा नौ महिनाअघि नै पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।
७० वर्षीया लेगार्ड आगामी फेब्रुअरी ७ मा पदमुक्त हुने भएकी हुन्। सन् २०१९ मा पदभार ग्रहण गरेकी उनको कार्यकाल सन् २०२७ अक्टोबर ३१ सम्म थियो।
लेगार्डको यो अप्रत्याशित बहिर्गमनलाई सन् २०२७ मा हुने फ्रान्सको राष्ट्रपतीय निर्वाचनसँग जोडेर हेरिएको छ।
फ्रान्समा आप्रवासनविरोधी तथा दक्षिणपन्थी उम्मेदवार मरिन ले पेन विजयी हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै राष्ट्रपति इमानुएल म्याक्रोन पदमै रहँदा नयाँ अध्यक्ष चयन गरिसक्न यस्तो रणनीति अपनाइएको विश्लेषकहरूको विश्लेषण छ।
ले पेन सत्तामा आएमा इसिबीको नेतृत्व चयन प्रक्रिया जटिल बन्न सक्ने आशंका युरोपेली सङ्घ (इयु) का नेताहरूमा छ।
‘तटस्थताको दायित्वबाट मुक्त भएर बोल्न चाहन्छु’
इसिबीको नेतृत्व गर्न पाउनु आफ्नो लागि गौरव र सौभाग्यको विषय भएको उल्लेख गर्दै लेगार्डले पद छाड्नुको व्यक्तिगत कारण पनि खुलाएकी छन्।
अध्यक्षको जिम्मेवारीमा रहँदा राजनीतिक रूपमा पूर्ण तटस्थ बस्नुपर्ने दायित्व रहेकाले अब त्यो सीमाबाट मुक्त भएर मौद्रिक नीतिबाहेकका समसामयिक तथा फराकिला भूराजनीतिक विषयमा पनि स्वतन्त्र रूपमा आफ्ना धारणा राख्न चाहेको उनले बताएकी छन्।
इसिबीले युरो मुद्रा प्रयोग गर्ने २१ देशको ब्याजदर निर्धारण गर्छ, जसले युरोपभर घरजग्गा खरिददेखि उद्योग व्यवसायका लागि लिइने ऋणको लागत प्रत्यक्ष निर्धारण गर्दछ। युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले लेगार्डको उत्तराधिकारी चयनको औपचारिक प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिएका छन्।
इसिबीमा एकैपटक तीन शीर्ष पद रिक्त हुँदै
लेगार्डको राजीनामासँगै इसिबीको शीर्ष नेतृत्वमा ठूलो फेरबदल आउने भएको छ। कार्यकारी बोर्डकी सदस्य इसाबेल श्नाबेलले आगामी जनवरी ३ मा पद छाड्दै छिन् भने मुख्य अर्थशास्त्री फिलिप लेनको कार्यकाल पनि आगामी मे ३१ मा सकिँदै छ।
बेरेनबर्ग बैंकका प्रमुख अर्थशास्त्री होल्गर स्मिडिङका अनुसार यी तीनवटै महत्त्वपूर्ण वरिष्ठ पदहरूमा नयाँ नियुक्तिका लागि इयु नेताहरूले डिसेम्बर १७–१८ मा हुने शिखर सम्मेलनअघि नै साझा सहमति जुटाउने प्रयास गर्नेछन्।
इसिबीको नयाँ अध्यक्ष बन्ने दौडमा नेदरल्यान्ड्सको केन्द्रीय बैंकका पूर्वप्रमुख क्लास नट र अन्तर्राष्ट्रिय भुक्तानी बैंकका महाप्रबन्धक तथा स्पेनका पूर्वकेन्द्रीय बैंकर पाब्लो हर्नान्डेज डे कोस गरी मुख्यतया दुई जनाको नाम अघि देखिएको छ।
महामारीको संकट व्यवस्थापनदेखि ब्याजदरको चुनौतीसम्म
मारियो द्राघीको उत्तराधिकारीका रूपमा सन् २०१९ मा इसिबी प्रवेश गरेकी लेगार्डको कार्यकाल निकै चुनौतीपूर्ण रह्यो।
कोभिड-१९ महामारीका बेला युरोजोनको अर्थतन्त्रलाई धराशायी हुन नदिन र बजारमा ऋण प्रवाह कायम राख्न उनले सन् २०२० मा १ हजार ३५० अर्ब युरो बराबरको ऐतिहासिक ‘आपत्कालीन ऋणपत्र खरिद कार्यक्रम’ सफलतापूर्वक सञ्चालन गरेकी थिइन्।
लेगार्डको बहिर्गमनको घोषणाले इसिबीको पछिल्लो मौद्रिक नीति बैठकलाई समेत ओझेलमा पारेको छ। हालै अमेरिका र इरानबीच चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा युरोजोनको वार्षिक मुद्रास्फीति ३.८ प्रतिशत पुगेको छ।
इसिबीको वाञ्छित सीमा २ प्रतिशत भए पनि बैंकले तत्काल आर्थिक मन्दीको जोखिम टार्न आफ्नो प्रमुख ब्याजदरलाई २.५ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ। बजारमा मुद्रास्फीति नियन्त्रण र बढ्दो ऋण लागतबीच सन्तुलन मिलाउने जटिल जिम्मेवारी अब आउने नयाँ नेतृत्वको काँधमा आइपुग्नेछ।
कात्तिक १३, २०८३ शुक्रबार १२:५७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।