चुनाव हारेपछि पहिले आफूलाई ‘निर्वाचित राष्ट्रपति’ भनेका बोल्सोनारोले पोस्ट सच्याउँदै लेखे– ‘वास्तविक नेता'

चुनाव हारेपछि पहिले आफूलाई ‘निर्वाचित राष्ट्रपति’ भनेका बोल्सोनारोले पोस्ट सच्याउँदै लेखे– ‘वास्तविक नेता'

एजेन्सी : ब्राजिलको हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजित भएका सिनेटर फ्लावियो बोल्सोनारोले देश छाडेर अमेरिका पुगेलगत्तै सुरूमा आफू नै 'निर्वाचित राष्ट्रपति' भएको दाबी गरे। सामाजिक सञ्जाल 'एक्स' मा एक खुला पत्र लेख्दै बोल्सोनारोले सुरूमा आफूलाई 'निर्वाचित राष्ट्रपति' भनेका थिए। तर, उक्त दाबीको चौतर्फी आलोचना र विरोध भएपछि उनले पोस्ट संशोधन गर्दै आफू ब्राजिलको 'वास्तविक नेता' भएको उल्लेख गरेका छन्।

संशोधित पत्रमा उनले भनेका छन्, "म मेरा ६० लाख मतदातालाई मात्र नभई सम्पूर्ण ब्राजिलियन जनतालाई भन्न चाहन्छु कि म नै नेता हुँ। चुनाव चोरी गर्ने अपराधीहरू एक आपराधिक सञ्जालको हिस्सा हुन् जसले निरङ्कुशता कायम गरेका छन्।"

निर्वाचनमा धाँधली भएको आरोप 

निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भासँग करिब ४५ लाख मतान्तरले पराजित भएपछि बोल्सोनारो देश छाडेर मियामी पुगेका हुन्। उनले सर्वोच्च अदालत र राष्ट्रपति लुलाले मिलेर निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन्, यद्यपि यसको कुनै ठोस प्रमाण भने प्रस्तुत गर्न सकेका छैनन्।

लुलाका समर्थक धेरै रहेका उत्तर-पूर्वी राज्यहरूमा भोटिङ समय दुई घण्टा थप गर्ने सर्वोच्च अदालतको निर्णयलाई नै उनले धाँधलीको मुख्य आधार बनाएका छन्। तर, बोल्सोनारोको अभियान टोलीले पनि वर्षाका कारण दक्षिणी राज्यहरूमा समय थप्न माग गरेको थियो। 

इन्स्पर विश्वविद्यालयका प्राध्यापक पेड्रो बुर्गोसको विश्लेषणअनुसार सर्वोच्च अदालतको आदेशमा थपिएको दुई घण्टामा कुल मतको करिब ०.०३ प्रतिशत अर्थात् ३५ हजारभन्दा कम मत खसेको थियो, जबकि लुला करिब ४५ लाख मतले विजयी भएका हुन्। त्यसैले बोल्सोनारोले चुनाव रद्द गर्न दिएको निवेदन सफल हुने सम्भावना नरहेको विश्लेषकहरूको भनाइ छ।

लुलाको जितलाई ब्राजिलको संघीय निर्वाचन अदालत, विश्वका अन्य देशका नेताहरू, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू तथा स्वयं बोल्सोनारोकै पार्टीले समेत आधिकारिकता दिइसकेको छ। निर्वाचन प्राधिकरणले सम्पूर्ण मतदान प्रक्रिया कानुनी र संवैधानिक दायराभित्र रहेरै सम्पन्न भएको स्पष्ट पारेको छ।

ब्राजिलको निर्वाचन प्राधिकरणका प्रमुख कासियो न्युनेस मार्केसले एक विज्ञप्ति जारी गर्दै चुनाव पूर्णतया कानुनी र संवैधानिक प्रक्रिया अनुसार सम्पन्न भएको स्पष्ट पारेका छ।

राहदानी बुझाउने आदेशपछि देश छाडे

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा सर्वोच्च अदालतले राहदानी बुझाउन आदेश दिएपछि बोल्सोनारो गोप्य रूपमा देश छाडेर अमेरिका गएको बताइएको छ। तर, उनले आफू नभागेको दाबी गर्दै राजनीतिक प्रतिशोधबाट बच्नका लागि मात्रै देश छाडेको स्पष्टीकरण दिएका छन्।

उनले भनेका छन्, "म स्पष्ट पार्न चाहन्छु, म ब्राजिलबाट भागेको होइन। म आफ्नो र परिवारको सुरक्षाका लागि निस्किएको हुँ। म ब्राजिलका जनतालाई छाडेर भागेको छैन।"

कात्तिक १२, २०८३ बिहीबार १९:४९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।