इजरायली चुनावमा प्रधानमन्त्री नेतान्याहुलाई धक्का

इजरायली चुनावमा प्रधानमन्त्री नेतान्याहुलाई धक्का

एजेन्सी : इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ। विपक्षी दलहरूले ६७ सिट पाए पनि उनीहरूबीचको विभाजनले सरकार गठन चुनौतीपूर्ण बनेको छ।

‘द टाइम्स अफ इजरायल’ का अनुसार विपक्षी यहुदी नेतृत्वका दलले ४८ र अरब नेतृत्वका दलले १९ सिट प्राप्त गरेका छन्। यहुदी नेतृत्वका अधिकांश विपक्षी दल अरब नेतृत्वका दलसँग सहकार्य गर्न अनिच्छुक छन्।

सैनिकसहितका मतदाताको बाँकी मतगणनाले अन्तिम परिणाम बदल्न सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्। विपक्षी नेता गदी आइसेनकोटले परिणामले नेतान्याहु सरकारप्रति जनताको अविश्वास देखाएको बताउँदै परिवर्तन र अनिवार्य सैनिक सेवाप्रति प्रतिबद्ध सरकार गठनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैबीच, डेमोक्रेट्सका अध्यक्ष यायर गोलनले सरकार गठनका लागि विपक्षी दलका नेताहरूसँग वार्ता अघि बढाउने बताएका छन्। उनले अरब दलहरूलाई समेत गठबन्धनमा समेट्नुपर्ने धारणा राख्दै विवादास्पद न्यायिक सुधार रोक्न र युवामा भविष्यप्रतिको आशा जगाउन नयाँ सरकार आवश्यक रहेको बताए।

कात्तिक १२, २०८३ बिहीबार १५:२३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।