नोभेम्बर १ को ‘चलो दिल्ली रामलीला मार्च’मा सहभागी हुन राहुल गान्धीको आह्वान, भने - ‘प्रहरी र लाठीसँग नडराउनू’
एजेन्सी : भारतीय कांग्रेसका नेता राहुल गान्धीले मतदाता नामावली पुनरावलोकनका क्रममा भएको भनिएको अनियमितताको विरोधमा आगामी नोभेम्बर १ मा आयोजना गर्न लागिएको ‘चलो दिल्ली रामलीला मार्च’मा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोष्ट गर्दै गान्धीले यो मार्च कुनै राजनीतिक दलको नभई लोकतन्त्र बचाउने, लोकतन्त्रको रक्षा गर्ने, भोट चोरी रोक्ने र संविधानको रक्षा गर्ने अभियान भएको उल्लेख गरेका छन्।
उनले विरोध प्रदर्शनका क्रममा प्रहरी वा लाठीसँग डराउनुपर्ने कुनै आवश्यकता नरहेको बताउँदै सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) सँग कुनै पनि अनपेक्षित कदम चाल्ने हिम्मत नहुने दाबी गरे।
उनले भनेका छन्, "प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारसँग आजित भएका, लोकतन्त्र बचाउन र संविधानको रक्षा गर्न चाहने सबै जना आउनुहोस्।"
उनले जुनसुकै राजनीतिक आस्था भए पनि विद्यार्थी संगठनहरूलाई मार्चमा सहभागी हुन आह्वान गरे। भारतमाथि आक्रमण भइरहेको वा आफ्ना अभिव्यक्ति, विचार र सोच्ने स्वतन्त्रता खतरामा परेको महसुस गर्ने सबैलाई आन्दोलनमा सहभागी हुन उनले आग्रह गरे।
दिल्लीमा सुरक्षा व्यवस्था कडा
दिल्ली पुलिसले रामलीला मैदानमा हुने यस विशाल प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था निकै कडा बनाएको छ। प्रदर्शनकारीहरूलाई जन्तर मन्तर वा अन्य प्रतिबन्धित क्षेत्रतर्फ अघि बढ्न नदिन विशेष व्यवस्था मिलाइएको छ। कार्यक्रम स्थल र आसपासको क्षेत्रमा करिब १५० वटा उच्च क्षमता तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त सीसीटीभी क्यामेराहरू जडान गरी नियन्त्रण कक्षबाट प्रत्यक्ष अनुगमन गरिनेछ।
हिन्दुस्तान टाइम्सका अनुसार, सुरक्षाका लागि रामलीला मैदान र आसपासका क्षेत्रमा करिब तीन हजार प्रहरी परिचालन गरिनेछ। कुनै पनि दुर्व्यवहार वा अत्यधिक बल प्रयोगको आरोपबाट बच्न सुरक्षाकर्मीहरूलाई बडी-वर्न क्यामेरा उपलब्ध गराइनेछ।
प्रदर्शनकारीहरूका लागि राजघाट र माता सुन्दरी कलेज वरपर पार्किङको व्यवस्था गरिएको छ, जहाँबाट उनीहरू पैदल हिँडेर रामलीला मैदानसम्म पुग्नुपर्नेछ।
नयाँ दिल्लीका अन्य संवेदनशील क्षेत्रतर्फ भने कसैलाई पनि जान नदिइने प्रहरीले जनाएको छ। प्रहरीको गुप्तचर निकायका अनुसार उक्त र्यालीमा दिल्ली र आसपासका राज्यहरूबाट ४० हजारदेखि ५० हजारसम्म मानिसहरू सहभागी हुने अनुमान गरिएको छ।
कात्तिक १२, २०८३ बिहीबार १५:५२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।