चढेर आएकै बसको ठक्करबाट भीमफेदीमा महिलाको मृत्यु, चालक नियन्त्रणमा

चढेर आएकै बसको ठक्करबाट भीमफेदीमा महिलाको मृत्यु, चालक नियन्त्रणमा

मकवानपुर : मकवानपुरको भीमफेदी गाउँपालिकामा आफू सवार बसबाट ओर्लिएर बाटो काट्ने क्रममा सोही बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

भीमफेदी-८ ईपादेउरालीस्थित ईपा-कोगटे-भीमफेदी-हेटौँडा भित्री सडक खण्डमा बुधबार बिहान करिब ७:३० बजे भएको दुर्घटनामा स्थानीय ६३ वर्षीया लीलादेवी खत्रीको मृत्यु भएको हो।

प्रहरीका अनुसार ईपाबाट हेटौँडातर्फ जाँदै गरेको बा २ ख ९४३० नम्बरको बसमा सवार खत्री ईपादेउरालीमा गाडीबाट झरेकी थिइन्।

गाडीबाट ओर्लिएर अगाडिबाट बाटो काट्दै गर्दा सोही बसले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक समन मल्ल र इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक सुशान्त मिश्रको नेतृत्वमा ट्राफिकसहित २० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

दुर्घटनापछि केही समय फोन सम्पर्कमा मात्र रहेका चालक भीमफेदी गाउँपालिका-७ कोगटे बस्ने ४३ वर्षीय राजु आचार्य र बसलाई प्रहरीले बिहान ११:३० बजे नियन्त्रणमा लिएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय भीमफेदीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले घटनास्थल मुचुल्का सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाएको थियो।

अस्पतालमा पोस्टमार्टमपश्चात् साँझ मृतकका छोरा उज्ज्वल खत्रीले शव बुझिसकेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाका कारण सडक भने अवरुद्ध नभएको जनाइएको छ।

कात्तिक १३, २०८३ शुक्रबार ०८:२६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।