इजरायल निर्वाचन : ७६.८ प्रतिशत मतगणनामा नेतान्याहुको गठबन्धन अगाडि, तर स्पष्ट बहुमतको अन्योल कायमै

इजरायल निर्वाचन : ७६.८ प्रतिशत मतगणनामा नेतान्याहुको गठबन्धन अगाडि, तर स्पष्ट बहुमतको अन्योल कायमै

एजेन्सी : इजरायलमा सम्पन्न संसदीय निर्वाचनको ७६.८ प्रतिशत मतगणना सकिँदा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सत्ताधारी गठबन्धनले आफ्नो अग्रता कायम राखेको छ।

मतगणनाको पछिल्लो नतिजा अनुसार नेतान्याहुको गठबन्धनले ५४ सिट र विपक्षी गठबन्धनले ४७ सिट प्राप्त गर्ने अनुमान गरिएको छ। यसैबिच, चुनावमा अरब समुदायका दलहरूले आफ्नो उपस्थिति बलियो बनाउँदै कुल १९ सिट पुर्याउने देखिएको छ। १२० सदस्यीय इजरायली संसद् (नेसेट) मा सरकार गठनका लागि ६१ सिटको स्पष्ट बहुमत आवश्यक पर्छ। कुनै पनि पक्षले स्पष्ट बहुमत नल्याउँदा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक पर्ने देखिएको छ।

प्रारम्भिक नतिजा अनुसार नेतान्याहुको लिकुड पार्टीले २७ सिट, गादी आइसेनकोटको यासार पार्टीले २१ सिट, अरब बहुसंख्यक दलहरूको संयुक्त सूचीले १३ सिट र नफ्तली बेनेटको ब्याहाद पार्टीले ११ सिट प्राप्त गर्ने देखिएको छ।

त्यसैगरी, याइर गोलानको डेमोक्रेट्स र अविगडोर लिबरम्यानको यिस्रायल बेतेनुले समान ८–८ सिट पाउने अनुमान छ। कट्टरपन्थी तथा धार्मिक दलहरूमध्ये सास, युनाइटेड तोराह जुडाइज्म र ओत्ज्मा येहुदितले समान ७–७ सिट तथा धार्मिक जियोनिज्म र राअम पार्टीले ६–६ सिट ल्याउने प्रक्षेपण छ।

निर्वाचनको नतिजा स्पष्ट बहुमततर्फ नढल्किएपछि र नयाँ सरकार गठनमा अन्योल छाउने सङ्केत देखिएपछि इजरायली मुद्रा 'सेकेल' अमेरिकी डलरको तुलनामा कमजोर भएको छ। तेल अभिवमा भएको बिहानी कारोबारमा सेकेल ०.७ प्रतिशतले घटेर प्रतिडलर ३.०७६५ निस पुगेको छ, जबकि मङ्गलवार मात्र यो मुद्रा तीन हप्ताकै उच्च विन्दुमा पुगेको थियो।

मतगणना जारी रहँदा वामपन्थी नेता एवं 'डेमोक्रेट्स' पार्टीका प्रमुख याइर गोलानले विपक्षी गठबन्धनलाई अरब दलहरूसँग सहकार्य गरेर बहुमत पुर्याउन आह्वान गरेका छन्। 

सामाजिक सञ्जाल 'एक्स' मा पोस्ट गर्दै गोलानले नेतान्याहुले हारिसकेको दाबी गर्दै विपक्षी र अरब नागरिकहरूको साझेदारीमा परिवर्तनको सरकार गठन गर्ने ऐतिहासिक अवसर आएको बताएका छन्। तथापि, मुख्य विपक्षी नेताहरूले यसअघि नै अरब दलहरूसँग मिलेर सरकार नबनाउने घोषणा गरिसकेकाले इजरायलमा नयाँ सरकार गठनको समीकरण थप जटिल बन्ने देखिएको छ।

कात्तिक ११, २०८३ बुधबार १५:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।