स्पेनमा दुई रेल ठोक्किँदा ४६ जनाको मृत्यु, मानवीय त्रुटिको आशङ्का
एजेन्सी : स्पेनको टोलेडो प्रान्तमा दुईवटा तीव्रगतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। बुधबार बिहान माड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल मार्गमा यो दुर्घटना भएको हो।
दुर्घटनापछि माड्रिड, सिउडाड रियल र अन्डालुसियाबीच चल्ने रेल सेवा पूर्ण रूपमा स्थगित गरिएको स्पेनको रेल प्रणाली सञ्चालक संस्था एडिआईएफले जनाएको छ।
समाचार संस्था एबीसी न्युजका अनुसार प्रारम्भिक अनुसन्धानले दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि भएको बताइएको छ।
मुख्य सिग्नल प्रणालीमा आएको समस्या मर्मत गरिरहेका सार्वजनिक सेवा क्षेत्रका एक कर्मचारीले विपरीत दिशाबाट आउँदै गरेको इरियो रेलबारे एभीई उच्च गतिको रेललाई समयमै जानकारी नगराएको प्रारम्भिक विवरणमा उल्लेख छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे आधिकारिक अनुसन्धानको निष्कर्ष सार्वजनिक हुन बाँकी छ।
दुर्घटनामा दक्षिणतर्फ गइरहेको सरकारी स्वामित्वको रेन्फे एभीई रेलले रोकिराखिएको इरियो रेललाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करका कारण रेलका केही डिब्बा लिकबाट खसेर भिरतर्फ पुगेका थिए।
कास्टिला ला मान्चा क्षेत्रका प्रवक्ता एस्थर पाडिलाका अनुसार दुर्घटनाका बेला रेनफे रेलमा ३९७ जना र इरियो रेलमा १४७ जना यात्रु सवार थिए।
इटालीको स्वामित्व रहेको रेल कम्पनी इरियोले घटनापछि सुरक्षा प्रक्रिया सक्रिय पारिएको र सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी काम गरिरहेको जनाएको छ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले यातायातमन्त्री ओस्कार पुएन्ते र कास्टिला–ला मान्चाका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्।
सामाजिक सञ्जाल एक्समा उनले उद्धार तथा आपत्कालीन सेवाका टोली घटनास्थलमा खटिएर प्रभावितको उद्धार र सुरक्षाका लागि काम गरिरहेको बताएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ उनले भनेका छन्, "टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाले म स्तब्ध भएको छु। म यातायात मन्त्री र कास्टिला-ला मान्चाका अध्यक्षसँग निरन्तर सम्पर्कमा छु। उद्धार टोलीहरू घटनास्थलमा खटिएर प्रभावितहरूको सहायता र सुरक्षा सुनिश्चित गरिरहेका छन्।"
इटालेली स्वामित्व रहेको 'इरियो' कम्पनीले पनि विज्ञप्ति जारी गर्दै आफ्ना सुरक्षा प्रोटोकलहरू लागू गरिएको र अधिकारीहरूसँग नजिकबाट काम भइरहेको जनाएको छ।
स्पेनको तीव्रगतिको रेल सञ्जालमा यो वर्ष भएको यो दोस्रो ठूलो दुर्घटना हो। यसअघि गत जनवरीमा एडामजमा भएको रेल दुर्घटनामा ४५ जनाको ज्यान गएको थियो। सन् २०१३ मा ८० जनाको ज्यान जाने गरी भएको दुर्घटनापछिको यो स्पेनकै सबैभन्दा घातक रेल दुर्घटनामध्ये एक मानिएको छ।
कात्तिक ११, २०८३ बुधबार १७:२८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।