कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित समारोहमा पार्टी सभापति गगनकुमार थापाले पदाधिकारीसहित केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्। शपथ ग्रहण लगत्तै नवनिर्वाचित सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ। 

सभापति थापाले भने यसअघि फूलपातीकै दिन शपथ लिएर पदबहाली गरिसकेका थिए। यसैबीच नवनिर्वाचित चार जना केन्द्रीय सदस्यको भने शपथ रोकिएको छ। अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई शपथ गराइएको छैन।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए।

त्यसैगरी महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) तथा विभिन्न क्लस्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन्। शपथ ग्रहण सकिएपछि नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक सानेपामा बस्ने तयारी भएको छ।

कात्तिक १२, २०८३ बिहीबार १५:३७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।