गोदाममै कुहिँदै गोरखाको स्याउ

गोदाममै कुहिँदै गोरखाको स्याउ

गोरखा : बूढीगण्डकी नदीको बाढीले सडक र पुल बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादित लाखौँ किलो स्याउ बजार पुर्याउन नसकी गोदाममै थन्किएर कुहिन थालेको छ।

गत असोज २५ गते चुमनुब्री गाउँपालिका–६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले ‘बेनिघाट–आरुघाट-लार्के’ सडक खण्डसहित तल्लो तटीय क्षेत्रका दर्जनौँ पुल र बाटो बगाएको थियो।

स्थानीय तहको पहलमा मानिस हिँड्ने अस्थायी बाटो खुले पनि ढुवानीको मुख्य साधन खच्चड हिँडाउन नसकिँदा स्याउ ढुवानी ठप्प भएको हो।

चुमनुब्री-४ नाम्रुङका किसान लाक्पा डुन्डुप लामाका अनुसार ‘इन गोरखा प्रोडक्ट प्रालि’को फर्ममा रहेका १२ हजार ५०० बोटबाट यस वर्ष करिब एक लाख किलो स्याउ उत्पादन भएको छ।

तर बजार लैजान नसक्दा एक महिनाअघि टिपिएका गाला र गोल्डेन डिलिसियस प्रजातिका स्याउ गोदाममै सड्न थालेका छन्।

गत भदौ २१ गते थेराङ खोलाको बाढीले लघु जलविद्युत् आयोजना बगाएपछि विद्युत् नहुँदा ड्रायर मेसिन चलाएर सुकुटी बनाउनसमेत नपाइएको किसानको गुनासो छ।

हेलिकप्टरबाट ढुवानी गर्दा लागत महँगो हुने र खच्चड हिँड्ने बाटोसमेत नहुँदा लाखौँ मूल्य बराबरको स्याउ कुहाएर फाल्नुपर्ने अवस्था आएको व्यवसायी लामाले बताउनुभयो।

कात्तिक १२, २०८३ बिहीबार ०८:३०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।