नेपालमा देखिन थाल्यो ‘अर्नब’को प्रभाव, दिउँसोदेखि वर्षा र हिमपातको चेतावनी

नेपालमा देखिन थाल्यो ‘अर्नब’को प्रभाव, दिउँसोदेखि वर्षा र हिमपातको चेतावनी

काठमाडौं : पश्चिम-मध्य बङ्गालको खाडीमा विकसित भई भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गरेको चक्रवात ‘अर्नब’ क्रमशः कमजोर बन्दै गए पनि नेपालमा भने यसको उल्लेखनीय प्रभाव देखिन थालेको छ।

चक्रवातको प्रभावका कारण आज बिहानैदेखि देशभर साधारणतया बादल लागिरहेको छ।

मौसम पूर्वानुमान महाशाखा र मौसमविद्हरूका अनुसार आज दिउँसोदेखि देशका विभिन्न भागमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात सुरु हुने सम्भावना छ।

मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ जमिनमा प्रवेश गरेसँगै कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ। नेपालमा यसको प्रभावले आकाशमा बाक्लो बादल देखिए पनि बिहानसम्म वर्षा भने सुरु भएको छैन।

यद्यपि, हिजोको तुलनामा आजको पूर्वानुमानमा कम जिल्लाहरू जोखिमको सूचीमा देखिए तापनि यो प्रणालीले निकै ठूलो क्षेत्र ओगटेको छ।

माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग यसको अन्तरक्रिया हुन सक्ने भएकाले देशका धेरै भू-भागमा भारी वर्षा गराउन सक्ने जोखिम अझै कायमै रहेको मौसमविद्हरूको भनाइ छ।

विशेषगरी आज दिउँसोदेखि पानी पर्न सुरु भई भोलि (शुक्रबार) भारी वर्षाको सम्भावना बढी रहने र शनिबार बिहानसम्म उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ।

कहाँ-कहाँ पर्नेछ असर?
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार आज कात्तिक १२ गतेदेखि १४ गते (शनिबार) सम्म देशैभर मौसमी गतिविधि सक्रिय रहनेछ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र हिमपातसमेत हुन सक्छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिइएको छ।

किसान र पर्यटकलाई विशेष सतर्कता अपनाउन अपिल
मौसम प्रणालीका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई निम्न सावधानी अपनाउन अनुरोध गरेको छ।

हाल धानबाली भित्र्याउने मुख्य समय रहेकाले वर्षाका कारण बाली नष्ट हुन नदिन आगामी १४ गते (शनिबार) सम्म धान काट्ने वा भित्र्याउने कृषि कार्य नगर्न/नगराउन भनिएको छ।

उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपात, हिउँआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले पदयात्रा (ट्रेकिङ) तथा पर्वतारोहणका लागि उच्च हिमाली क्षेत्रमा नजान र गइसकेका पर्यटकहरूलाई तुरुन्त सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

वर्षा र हिमपातसँगै देशभर चिसो ह्वात्तै बढ्ने, सडक छेउछाउ पहिरो जान सक्ने तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ।

वर्षाको स्थान, समय र मात्रा प्रणालीको गति अनुसार फेरबदल हुन सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने नियमित तथा अद्यावधिक सूचनाहरू हेर्न सबैमा अपिल गरिएको छ।

कात्तिक १२, २०८३ बिहीबार ०७:२३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।