एनपीएलमा रक्सीको छद्म प्रचारविरुद्ध आरिफको ‘विद्रोह’!
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमै बहुराष्ट्रिय बियर ब्रान्ड कार्ल्सबर्गको छद्म (सरोगेट) विज्ञापन मैदानभर छ्यापछ्याप्ती भइरहँदा सुदूरपश्चिम रोयल्सका एक खेलाडीले भने त्यसको प्रचार गरेनन्।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्धको उद्घाटन खेलमा सुदूरपश्चिमका अलराउन्डर आरिफ शेखले आफ्नो जर्सीमा छापिएको मदिराको छद्म लोगो ‘प्रोबब्ली’लाई हरियो टेपले छोपेर मैदान उत्रिए।
देशको कानुन, सर्वोच्च अदालतको परमादेश र जनस्वास्थ्य ऐनलाई समेत चुनौती दिँदै फ्रेन्चाइज टोलीहरूले मदिराको गैरकानुनी प्रचार गरिरहेका बेला राष्ट्रिय टोलीका नियमित सदस्यसमेत रहेका आरिफले जर्सीमै टेप टाँसिदिए।
अभ्यासदेखि मुख्य खेलसम्मै विज्ञापन बहिष्कार
सुदूरपश्चिम रोयल्सले केही दिनअघि मात्रै पर्यटन प्रवर्द्धन गर्ने भन्दै ‘अपि एडिसन’ नाम दिएर पहेंलो रङको नयाँ जर्सी सार्वजनिक गरेको थियो। उक्त जर्सीको देब्रे बाहुलामा नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक लोगोभन्दा ठ्याक्कै माथि गाढा हरियो पृष्ठभूमिमा ‘Probably’ लेखिएको लोगो राखिएको छ।
सोमबार मैदानमा सुदूरपश्चिमका अन्य सबै खेलाडीहरूले खुलेआम उक्त लोगो भएको जर्सी लगाएका थिए। तर, आरिफ शेखको बाहुलामा भने त्यो लोगो देखिएन। उनले उक्त ब्रान्डको प्रचार गर्न नचाहेर लोगो ठ्याक्कै छोपिने गरी उस्तै रङको टेप टाँसेका थिए।
त्यसअघि खेलको तयारी र नेट प्राक्टिसका क्रममा पनि आरिफले मदिराको प्रचारबाट जोगिने प्रयास गरेका थिए। अभ्यासका दौरान उनले बाहुला नै नभएको (स्लिभलेस) टि-सर्ट प्रयोग गरेका थिए भने बाहुला भएको अभ्यास जर्सीमा पनि टेप टाँसेर लोगो छोपेका थिए।

नेपाल प्रिमियर लिगको आधिकारिक सामाजिक सञ्जाल पेजले सोमबार पहिलो खेलअघि खेलाडीहरू मैदान प्रवेश गर्दै गरेको तस्बिर पोस्ट गर्दा सुदूरपश्चिमका तर्फबाट आरिफकै तस्बिर राखेको थियो। खेल सामग्रीको झोला बोकेर मैदान छिर्दै गरेका आरिफको देब्रे बाहुलामा त्यतिबेलै पनि उक्त विज्ञापन टेपले छोपिएको प्रस्ट देखिन्थ्यो।

के हो ‘प्रोबब्ली’ र किन गरिँदैछ छद्म प्रचार ?
‘प्रोबब्ली’ कुनै स्वतन्त्र उत्पादन वा छुट्टै ब्रान्ड होइन। यो विश्वप्रसिद्ध डेनिस बियर कम्पनी ‘कार्ल्सबर्ग’ को अन्तर्राष्ट्रिय विज्ञापन स्लोगन “Probably the best beer in the world” बाट लिइएको शब्द हो।
नेपालको जनस्वास्थ्य सेवा ऐन २०७५, विज्ञापन (नियमन गर्ने) ऐन २०७६ र २०७९ फागुन १५ मा सर्वोच्च अदालतले जारी गरेको स्पष्ट परमादेशले मदिरा, सुर्तीजन्य पदार्थ तथा स्वास्थ्यलाई हानि पुर्याउने वस्तुको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पूर्ण रोक लगाएको छ।
कानुनको यही बन्देज छल्न बहुराष्ट्रिय मदिरा कम्पनीहरूले प्रतिबन्धित देशहरूमा चोर बाटोबाट ‘सरोगेट’ (छद्म) विज्ञापन गर्ने गर्छन्।
कार्ल्सबर्गले आफ्नो बियरको बोतलमा प्रयोग गर्ने गाढा हरियो रङ, ट्रेडमार्क फन्ट र माथिको क्राउनको लोगो हुबहु राखेर केवल ‘Probably’ शब्द मात्र जर्सीमा छापेको छ। एनपीएलमा सहभागी आठमध्ये दुई टोली- सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सले खुलेआम यो छद्म लोगो जर्सीमा राखेका छन्।
अन्तर्राष्ट्रिय अभ्यास : धर्म र व्यक्तिगत आस्थाको सम्मान
मुस्लिम समुदायमा मदिरा (मद्यपान), जुवा र ब्याजलाई ‘हराम’ (इस्लामी कानुनअनुसार पूर्ण रूपमा वर्जित) मानिन्छ। यसकारण विश्व खेलकुदमा मुस्लिम खेलाडीहरूले आफ्नो धार्मिक आस्थाका कारण मदिरा वा सट्टेबाजी कम्पनीहरूको लोगो भएको जर्सी लगाउन अस्वीकार गर्ने लामो परम्परा छ।
क्रिकेटमा दक्षिण अफ्रिकाका ब्याट्सम्यान हासिम अमलाले आफ्नो राष्ट्रिय टोलीको प्रमुख प्रायोजक बियर ब्रान्ड ‘कासल लागर’को लोगो आफ्नो जर्सीमा कहिल्यै लगाएनन्। यसबापत उनले सुरुवाती दिनमा जरिवानासमेत बेहोर्नुपरेको थियो, पछि बोर्डले उनको आस्थाको सम्मान गर्यो।
यस्तै, इंग्ल्यान्डका मोइन अली र आदिल रसिदले पनि मदिरा कम्पनीहरूको प्रचार जर्सीमा गर्न मानेनन् भने ट्रफी जितेपछि गरिने ‘स्याम्पियन’ उत्सवबाट पनि उनीहरू सधैँ टाढा रहने गर्छन्।

फुटबलमा सेभियाका पूर्वस्ट्राइकर फ्रेडरिक कानौटेले सन् २००६ मा क्लबको मुख्य प्रायोजक अनलाइन जुवा कम्पनी ‘८८८.कम’को प्रचार गर्न अस्वीकार गर्दै जर्सीमा टेप टाँसेर खेलेका थिए।
त्यस्तै, फ्रान्क रिबेरी र साडियो माने जस्ता प्रख्यात फुटबलरहरूले पनि बायर्न म्युनिखमा छँदा परम्परागत मदिरा कम्पनी ‘पाउलानर’को फोटोसेसनमा बियरको गिलास समात्न अस्वीकार गरेका थिए।
नेपाली राष्ट्रिय टोलीबाट लामो समयदेखि प्रतिनिधित्व गरिरहेका आरिफले पनि यही अन्तर्राष्ट्रिय अभ्यास र आफ्नो धार्मिक-व्यक्तिगत मान्यताका आधारमा मदिराको विज्ञापनमा टेप टाँसेर असहमति जनाएको बुझ्न सकिन्छ।
तर जुवाको लोगोमा भने मौन थिए आरिफ
यद्यपि, आरिफको यो कदम प्रशंसायोग्य देखिए पनि उनका विगतका सहभागिताले भने केही नैतिक प्रश्न पनि उब्जाएका छन्।
इस्लाम धर्ममा मदिरा जत्तिकै जुवा र सट्टेबाजी (मयसिर) लाई पनि पूर्ण रूपमा निषेध गरिएको छ। तर, यसअघि सम्पन्न एनपीएलको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाटै खेल्दा आरिफले अनलाइन जुवा र बेटिङ प्लेटफर्म ‘बाजी’ (Baji / Baji Live) को खुला प्रचार गरिएको जर्सी लगाएका थिए।
त्यतिबेला उनको २४ नम्बरको जर्सीको पछाडि र अगाडि ‘बाजी’ को लोगो प्रस्ट देखिन्थ्यो, जसमा उनले कुनै टेप लगाएका थिएनन् वा आपत्ति जनाएका थिएनन्।

नियमनकारी निकाय लाचार, खेलाडीको आफ्नै ‘प्रतिवाद’
विडम्बना के छ भने, जुन मदिराको विज्ञापन रोक्न राज्यका शक्तिशाली निकायहरू कानुन र अधिकार हातमा लिएर पनि मौन छन्, त्यहाँ एउटा खेलाडीले व्यक्तिगत स्तरमा टेप टाँसेर भए पनि असहमति जनाउनुपरेको छ।
एनपीएलमा खुलेआम भइरहेको यो गैरकानुनी प्रचारबारे विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष सन्तोष श्रेष्ठले खेलाडीको जर्सी ‘मास मिडिया नभएको’ भन्दै स्थानीय तह (कीर्तिपुर नगरपालिका) तिर औँला ठड्याएर पन्छिने प्रयास गरेका छन्।
अर्कोतर्फ, कीर्तिपुर नगरपालिकाले मदिरा र छद्म ब्रान्ड ‘प्रोबब्ली’ का लागि कुनै स्वीकृति नै नदिएको दाबी गर्दै पन्छिएको छ।
नियमनकारी निकायहरूको लाचारीबीच आरिफ शेखको बाहुलामा टाँसिएको त्यो ‘टेप’ एनपीएलभित्र छिरेको गैरकानुनी मदिराको प्रचारमाथिको ठूलो नैतिक झापड हो।
कात्तिक १०, २०८३ मंगलबार ११:०८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।