बंगलादेशी अम्पायरको चार वटा निर्णय उल्टियो, इसान भन्छन्- ‘डीआरएस नभएको भए...’

बंगलादेशी अम्पायरको चार वटा निर्णय उल्टियो, इसान भन्छन्- ‘डीआरएस नभएको भए...’

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच भएको खेलमा अन-फिल्ड अम्पायरको निर्णय निकै कमजोर बन्यो।

आईसीसी प्यानलका बंगलादेशी अम्पायर मसुदुर रहमानले दिएका चार-चारवटा महत्त्वपूर्ण निर्णयलाई ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) ले उल्टाइदिएको छ।

खेल दौरान अम्पायर रहमानले दिएका तीनवटा एलबीडब्लु र एउटा ‘कट बिहाइन्ड’ सम्बन्धी निर्णय रिभ्युमार्फत सच्चिएका हुन्।

सुरुवाती दुईवटा एलबीडब्लुको निर्णयमा ब्याटरले रिभ्यु लिँदा प्रविधिले ‘नटआउट’ ठहर गर्दै अन-फिल्ड अम्पायरको निर्णय बदलिदिएको थियो।

त्यसैगरी, ब्याटर कट बिहाइन्ड हुँदा रहमानले आउट नदिएपछि फिल्डिङ टोलीले लिएको रिभ्युमा प्रविधिले स्पष्ट रूपमा ब्याट छोएको देखाउँदै आउट दिएको थियो।

लगत्तै अर्को एउटा एलबीडब्लुको निर्णय पनि डीआरएसमार्फत उल्टिएपछि एउटै खेलमा गलत निर्णयको संख्या चार पुगेको हो।

‘डीआरएस नहुँदा खेलको नतिजा नै प्रभावित हुनसक्थ्यो’
खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम रोयल्सका अलराउन्डर इसान पाण्डेले डिआरएसका कारण दैनिक मैदानका अम्पायरबाट निर्णयहरू परिवर्तन भइरहेको भन्दै यसलाई सकारात्मक रुपमा लिएको बताए।

एउटै खेलमा अम्पायरका चारवटा निर्णय उल्टिनु असामान्य रहेको संकेत गर्दै इसानले भने, ‘डीआरएसका कारण दैनिक कति डिसिजन चेन्ज भइराको छ। आजको खेलमा कुशल भुर्तेल दाइको पहिलो बलमै अम्पायरले आउट दिनुभएको थियो।डीआरएस नभएको भए उहाँको आजको दिन खराब थियो नि त! ब्याट्सम्यानको रुपमा त एक बल नै त हो नि! त्यसको प्रत्यक्ष असर खेलको नतिजामा पर्थ्यो।’

उनले एनपीएलजस्तो ठूलो र प्रतिस्पर्धात्मक प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरको प्रविधि (डीआरएस) उपलब्ध हुनु खेलाडी र समग्र प्रतियोगिताकै लागि ठूलो उपलब्धि भएको समेत बताए।

यदि प्रविधिको प्रयोग नभएको भए यी चारवटै त्रुटिपूर्ण निर्णयले दुवै टोलीको ब्याटिङ र बलिङ समीकरण पूर्ण रूपमा बिगार्न सक्ने अवस्था थियो। खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

कात्तिक ११, २०८३ बुधबार २१:४८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।