स्पेनिस फुटबल संघद्वारा बार्सिलोनामाथि जरिवाना, अल्भारेजले मागे माफी
एजेन्सी : स्ट्राइकर जुलियन अल्भारेजलाई अनाधिकृत रूपमा सम्पर्क गरेको भन्दै स्पेनिस फुटबल संघले ला-लिगा क्लब बार्सिलोनालाई ६०२ युरो जरिवाना तिराएको छ। प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिडले दिएको उजुरीका आधारमा बार्सिलोनामाथि यो कारबाही गरिएको हो।
एथ्लेटिको म्याड्रिडले आफूलाई कुनै लिखित जानकारी नदिई बार्सिलोनाले अर्जेन्टिनी स्टार अल्भारेजसँग गुप्त रूपमा सम्पर्क बढाएको आरोप लगाएको थियो।
एथ्लेटिकोले यस विषयमा विश्व फुटबलको सर्वोच्च निकाय फिफामा समेत उजुरी दिएको थियो; तर फिफाले यो आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै निर्णय दिन अस्वीकार गरेपछि स्पेनिस फुटबल संघले सामान्य जरिवानाको फैसला सुनाएको हो।
२६ वर्षीय अल्भारेजको एथ्लेटिको म्याड्रिडसँग सन् २०३० को जुनसम्मको सम्झौता कायमै छ।
अल्भारेजले माफी मागे
यस ट्रान्सफर विवादका कारण अल्भारेजले यो सिजन आफ्नै क्लबका समर्थकहरूको चर्को विरोधको सामना गर्नुपरिरहेको थियो।
तर, शनिबार भएको खेलमा डेपोर्टिभो ला कोरुनाविरुद्ध निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएपछि भने केही समर्थकहरूले उनको पक्षमा ताली बजाएका थिए। डिएगो सिमोनीको प्रशिक्षणमा रहेको एथ्लेटिको यो जितसँगै शीर्ष स्थानको बार्सिलोनाभन्दा मात्र दुई अंकले पछि छ।
खेलपछि अल्भारेजले समर ट्रान्सफर विन्डोमा आफूले दिएको विवादास्पद अन्तर्वार्ताप्रति समर्थकहरूसँग सार्वजनिक रूपमा माफी मागेका छन्। उक्त अन्तर्वार्तामा उनले बार्सिलोनाबाट खेल्ने आफ्नो ‘सपना’ रहेको अभिव्यक्ति दिएका थिए, जसले एथ्लेटिकोका समर्थकहरूलाई आक्रोशित बनाएको थियो।
“त्यो मेरो गल्ती थियो,” माफी माग्दै अल्भारेजले भने, “म समर्थकहरूको रिस बुझ्न सक्छु। यदि म समर्थक भएको भए म पनि त्यसैगरी रिसाउने थिएँ, विशेषगरी क्लबमा आएदेखि उहाँहरूले मलाई जसरी माया र समर्थन दिनुभएको थियो, त्यसलाई हेर्दा त्यो अभिव्यक्ति अनुचित थियो।”
अल्भारेज सन् २०२४ को अगस्टमा ८ करोड १५ लाख पाउन्डसम्म पुग्न सक्ने ६ वर्षे सम्झौतामा म्यानचेस्टर सिटीबाट एथ्लेटिको म्याड्रिड भित्रिएका थिए। म्यानचेस्टर सिटीका लागि १०३ खेलमा ३६ गोल गरेका उनले एथ्लेटिकोका लागि हालसम्म ११५ खेल खेल्दै ५१ गोल गरिसकेका छन्।
कात्तिक ११, २०८३ बुधबार १०:०१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।