प्रचण्डले कटवाललाई बर्खास्त गर्न बालुवाटार बोलाउँदा भैरवनाथ गणको सेनाले बालुवाटार घेरेको राष्ट्रपति यादवको सल्लाहकारको खुलासा

प्रचण्डले कटवाललाई बर्खास्त गर्न बालुवाटार बोलाउँदा भैरवनाथ गणको सेनाले बालुवाटार घेरेको राष्ट्रपति यादवको सल्लाहकारको खुलासा

काठमाडौं : तत्कालीन सरकारले बर्खास्त गर्ने तयारीसहित प्रधानसेनापति रुक्माङगत कटवाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बेलामा प्रधानमन्त्री निवास बालुवाटार सेनाले घेरेको खुलेको छ। प्रचण्डले २०६६ वैशाख २० मा कटवाललाई बर्खास्त गरेका थिए।

तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको कानुनी सल्लाहकार रहेका ललित बस्नेतले पत्रकार सुधीर शर्माको अनि अब कार्यालयमा सो समयको अवस्थाबारे खुलाउँदै कटवाल प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेपछि भैरवनाथ गणका सेना परिआएको अवस्थामा भित्ता फोड्ने मेसिनसहित परिचालित भएको खुलाएका हुन्।

माओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने, सेनाको नयाँ भर्ना रोक्न सरकारले दिएको निर्देशन र केही रथीहरूको म्याद थप गर्ने विषयमा सरकार र प्रधानसेनापति कटवालबीच विवाद  चुलिएपछि नागरिक सरकारको निर्देशन नमानेको भन्दै सरकारले बर्खास्त गरेको थियो।

उनका अनुसार त्यो बेलामा भैरवनाथको सेना पर्खाल नाघेर भित्र छिर्न भर्याङदेखि लिएर पर्खाल भत्काउने उपकरणसहित परिचालित भएर बालुवाटार परिसर बाहिरबाट घेरेको थियो।

“रुक्माङगत कटवाललाई प्रधानसेनापतिबाट हटाउने तयारीबारे पहिल्यैबाट संकेत आएको थियो। जब प्रधानमन्त्रीले उहाँलाई बालुवाटारमा बोलाएको जानकारी आयो त्यसपछि कतै वाइसिएल लगाएर थुन्ने पो हो कि भन्ने डर थियो,” बस्नेतले कार्यक्रममा भनेका छन् “त्यो भयो भने त बर्बाद हुन्छ भनेर मैले बलाधिकृत छत्रमान गुरुङसँग फोनमा कुरा गरेर चिफसापको सुरक्षा हेर्नुपर्ला भनेँ। १० मिनेटपछि उहाँले फोन गरेर भैरवनाथले लोकेट गरिसकेको भन्नुभयो।”

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले कटवाललाई हटाउनेबारे राष्ट्रपति डा. यादवसँग छलफल गर्दा नहटाउन सुझाव दिए पनि नमानेको दाबी गरे।  प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति यादवलाई ‘मैले प्रधानसेनापति फ्याँकेँ भने के गर्नु हुन्छ’ भनेर सोध्दा उनले ‘कि संसद् पठाउँछु कि अदालत पठाउँछु’ भनेको उनको दाबी छ।

बस्नेतका अनुसार प्रचण्डले कटवाललाई फ्याँक्न सशस्त्र प्रहरी बलका तत्कालीन प्रमुख रहेका सनत बस्नेतको सहयोग लिएको र सुरक्षा समेत सशस्त्रको लिएको दाबी गरे। वैशाख २० गते तत्कालीन रथी कुलबहादुर खड्कालाई बालुवाटार बोलाएर पछि कटवाललाई बोलाइएको थियो।

प्रचण्डले कटवाललाई एउटा कोठामा कफी खुवाएर राखेर अर्को कोठामा खड्कासँग छलफल गरेका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डले खड्कालाई नियुक्ति पत्र दिएको र कटवाललाई बर्खास्त गरेको पत्र दिन खोजेका थिए।

बर्खास्त भएको पत्र दिन खोजेपछि कटवालले राष्ट्रपति कार्यालयमा फोन गरेर पत्र लिने कि के गर्ने भनेर सोध्दा राष्ट्रपति कार्यालयबाट कटवाललाई सिधै हेडक्वार्टर गएर कमान्ड सम्हाल्न भनेको बस्नेतले खुलाए।

राष्ट्रपति यादवले प्रधानमन्त्री प्रचण्डलाई ‘तपाईँ आफ्नो बाटो लाग्नुस्, म आफ्नो बाटो लाग्छु’ भनेको दाबी समेत गरे। त्यसपछि राष्ट्रपति यादवले आफ्नो सल्लाहकार समूहसहित छलफल गरेर निर्णय पुनर्विचार गर्न राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयमा पत्र पठाउने निर्णय गरेर पत्र पठाएको खुलाए।

तर पत्रको जवाफ आएन। कटवाल हटाउने निर्णयको विरोधमा सरकारमा रहेको एमाले बाहिरिएको थियो। नेपाली कांग्रेस विपक्षमा थियो। त्यसपछि १८ दलका नेता राष्ट्रपति कार्यालय गएर यो कदम रोक्न आग्रह गरेका थिए।

त्यसपछि राती ११ बजे राष्ट्रपति कार्यालयबाट कटवाललाई पुनर्बहाली गरेको पत्र बनाएको तर पत्रमा प्रशासनको सचिवले हस्ताक्षर गर्न नमानेपछि डा. यादव आफैले सो पत्रमा हस्ताक्षर गरेको उनले खुलाए। अर्को दिन प्रचण्डले राजीनामा दिए।

“राजीनामा दिन वैशाख २१ गते राष्ट्रपति कार्यालयमा आउँदा निकै रिसाउनु भएको थियो। उहाँले राजीनामा दिनु भयो र राष्ट्रपतिबाट स्वीकृत पनि भयो।”

कात्तिक ९, २०८३ सोमबार २३:०५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।