जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मुक्तिनाथ विकास बैंक लिमिटेड र जनकपुर बोल्ट्सबीच व्यावसायिक साझेदारी भएको छ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंक प्रतियोगितामा जनकपुर बोल्ट्सको ‘आधिकारिक बैंकिङ साझेदार’ रहनेछ।
पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोट्र्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरोज खतिवडा र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न (तारा) मानन्धरबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सहकार्यबारे बोल्दै बैंकका सीईओ मानन्धरले यो साझेदारी जर्सीमा लोगो राख्नमा मात्र सीमित नरही क्रिकेटमार्फत समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र युवा सशक्तीकरणमा टेवा पुर्याउने प्रतिबद्धता भएको बताए।
यस्तै, ड्रिम स्पोट्र्सका सीईओ खतिवडाले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने सोच बोकेको बैंकसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यो साथले टोलीलाई मैदानभित्र र बाहिर थप ऊर्जा दिने विश्वास व्यक्त गरे।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट ‘लिस्ट ए’ टी-२० को आधिकारिक मान्यता पाएको जारी एनपीएलमा जनकपुर बोल्ट्स उपाधि पुनः आफ्नो पोल्टामा पार्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेको छ।
कात्तिक ११, २०८३ बुधबार १४:०६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।