अध्यागमन विभागले भन्यो - उच्च हिमाली तथा पहाडी क्षेत्रमा ३ दिन पदयात्रा नगर्नू
काठमाडौं : अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा आगामी कात्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न पर्यटकलाई आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार उक्त मितिहरूमा उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरो जाने उच्च जोखिम रहेको उल्लेख गर्दै अध्यागमनले पर्यटकलाई उक्त क्षेत्रमा नजान अनुरोध गरेको हो।
अध्यागमन विभागले मंगलबार सूचना जारी गर्दै पर्यटकहरूलाई उच्च पहाडी र हिमाली क्षेत्रमा गइसकेको भए पनि सो अवधिभर सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
साथै, उक्त अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित क्षेत्रमा जाने पदयात्राको अनुमति जारी नहुने समेत विभागले स्पष्ट पारेको छ।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शक (गाइड) लगायत सम्पूर्ण सरोकारवालाहरूलाई सूचनाको पालना गर्न र गराउन आग्रह गरेको छ।
कात्तिक १०, २०८३ मंगलबार १७:५०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।