बजारमा नपाइने ‘गोल्डेन ओक पानी’ टियुको बाउन्ड्रीमा, दोस्रो सिजनमा जस्तै एनपीएलमा फेरि रक्सीको छद्म प्रचार
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाल क्रिकेट संघ (क्यान) ले विगतको सिजनमा झैँ पानीको आवरणमा मदिराको सरोगेट विज्ञापनलाई पुन: निरन्तरता दिएको छ।
क्यानले गत वर्षजस्तै यसपटक पनि ‘गोल्डेन ओक ह्वीस्की’ को सरोगेट कम्पनी ‘गोल्डेन ओक ड्रिङ्किङ वाटर’ को विज्ञापनलाई प्रतियोगिताको बाउन्ड्री क्षेत्रभरि सजाएको छ।
नेपाल प्रिमियर लिगले अफिसियल हाइड्रेसन पार्टनरसमेत भएकाले यसले रंगशालामा परिसरमा स्टल समेत राखेको छ।
नेपालको कानुनले मदिराको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रचारमा पूर्ण बन्देज लगाए पनि क्यानले ह्वीस्की ब्रान्डलाई ‘पानी’ को आवरण दिएर प्रचार गरिरहेको हो।
एनपीएलको दोस्रो सिजनमा पानीको आवरणमा ह्वीस्कीको विज्ञापन गरिएको समाचार उकेराले प्रमाणसहित प्रकाशित गरेपछि विज्ञापन बोर्डले २०८२ मंसिर ३ गते क्यानलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको थियो।
जवाफमा क्यानले ‘यो मदिराको नभई पानीको विज्ञापन भएको’ भन्दै पन्छिन खोजेको थियो। तर, विज्ञापन बोर्डले पानीको आवरणमा मदिराकै छद्म प्रचार भएको ठहर गर्दै आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्र पठाएको थियो।
तर, उक्त कारबाही पत्र गृह मन्त्रालयमै थन्किएपछि कुनै कारबाही हुन सकेन। गृहको यही मौनता र कारबाहीविहीनताको फाइदा उठाउँदै यस वर्ष पनि क्यानले पुरानै शैलीमा ह्वीस्कीको ब्रान्डिङलाई मैदानमा भित्र्याएको देखिन्छ।
यसअघि पहिलो सिजनमा अनलाइन जुवा कम्पनी ‘डाफाबेट’ को सरोगेट ‘डाफान्युज’ भित्र्याइएपछि विज्ञापन बोर्डले २०८२ भदौ १२ मा क्यानलाई सचेत गराउँदै डाफान्युजको प्रचारमा प्रतिबन्ध लगाएको थियो।
पछि सरकारले नै २०८२ चैत १३ मा अनलाइन जुवाका प्लेटफर्ममाथि पूर्ण प्रतिबन्ध लगाएपछि क्यानले जुवाको प्रचार रोक्न बाध्य भए पनि मदिराको सरोगेट विज्ञापन भने निर्वाध जारी राखेको छ।
बजारमा कतै नभेटिने ‘पानी’, त्रिवि मैदानमै मात्र !
क्यानले ‘गोल्डेन ओक’ लाई पानी भनेर दाबी गरे पनि यो नेपालको चर्चित मदिरा ब्रान्ड हो। उकेराले पानी उत्पादन गर्ने कम्पनीको खोजी गर्दा गोल्डेन ओक ह्वीस्की उत्पादन गर्ने कम्पनी ‘हिमालयन डिस्टिलरी’ को लगानी रहेको खुलेको थियो।
तर, वास्तविकतामा हिमालयन डिस्टिलरीले पानी उत्पादन नै गर्दैन। यसले वीरगञ्जबाट केवल खाली बोतल मात्र उत्पादन गर्ने र पानी भर्ने काम भने नुवाकोटको ‘दुवाल ब्रदर्स प्रालि’ लाई जिम्मा दिने गरेको तथ्य खुलेको थियो।
‘गोल्डेन ओक’ ब्रान्डको यो पानी नेपालको कुनै पनि पसल, सुपरमार्केट वा खुला बजारमा किन्न पाइँदैन। यो केवल क्रिकेट प्रतियोगिताका बेला त्रिवि क्रिकेट मैदानको बाउन्ड्री र प्रचार बोर्डमा मात्र देखिन्छ।
यसबारे विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले जर्सीको प्रचार ‘मास मिडिया’ अन्तर्गत नपर्ने भन्दै यसको नियमन गर्ने क्षेत्राधिकार स्थानीय सरकार अर्थात कीर्तिपुर नगरपालिकाको भएको तर्क गरेका छन्।
तर, कीर्तिपुर नगरपालिकाले भने आफूहरूले मदिराको विज्ञापनका लागि अनुमति नै नदिएको स्पष्ट पारेको छ। नगरपालिकाका प्रवक्ता दीवाकर अधिकारीले ‘गोल्डेन ओक ड्रिङ्किङ वाटर’ले पानी उत्पादन गर्ने कम्पनीको रूपमा स्वीकृति लिएर बोर्ड राखेको बताए।
उनले भने, ‘गोल्डेन वाकले पानीकै प्रयोजनका लागि भनेर स्वीकृति लिएको भए तापनि यसलाई पानी र अल्कोहल दुवैको रूपमा फाइदा लिने गरी प्रस्तुत गरिएको देखियो।’
२०७९ फागुन १५ मा सर्वोच्च अदालतले कुनै पनि माध्यमबाट मदिराजन्य सामग्रीको प्रचारप्रसार नगर्न/नगराउन स्पष्ट परमादेश दिएको थियो भने जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ ले पनि यस्तो प्रचारलाई दण्डनीय मानेको छ।
कात्तिक ९, २०८३ सोमबार २२:२०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।