एनपीएलमा आज एउटा मात्र खेल, भुर्तेल र ऐरीको टोली आमनेसामने
काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै सुखद सुरुआत गर्ने दाउमा छ।
राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले विगतमा प्लेअफसम्म पुग्न नसकेको इतिहासलाई यसपटक बदल्ने लक्ष्य लिएको छ।
अर्कातर्फ, अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स भने जारी प्रतियोगिताको पहिलो खेलमा व्यहोरेको हारलाई बिर्सँदै बलियो पुनरागमन गर्ने योजनामा छ।
लगातार दुई संस्करण फाइनल पुगेर पनि उपाधिविमुख बनेको सुदूरपश्चिम यसपटक ट्रफी उचाल्ने अभियानमा छ।
कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गरिरहेका छन्। लिगको उपाधि भिडन्त आगामी मङ्सिर ५ गते हुनेछ।
कात्तिक ११, २०८३ बुधबार ०८:०३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।