विवादमा एमबाप्पे : चिनियाँ ब्रान्डहरूले सम्झौता तोडे, ला-लिगाले समेत माफी माग्यो
एजेन्सी : फ्रान्सेली फुटबल स्टार तथा रियल म्याड्रिडका फरवार्ड किलियन एमबाप्पेले चीनका पूर्वसर्वोच्च नेता माओत्सेतुङबारे गरेको विवादास्पद टिप्पणीप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
एक अन्तर्वार्ताका क्रममा माओलाई ‘चिनियाँ तानाशाह’ भन्दै व्यङ्ग्य गरेपछि चीनमा तीव्र आक्रोश फैलिएको छ भने त्यहाँका ठूला व्यावसायिक ब्रान्डहरूले एमबाप्पेसँगका प्रायोजन सम्झौताहरू रद्द गरेका छन्।
घटना फ्रेन्च टक-शो ‘द ब्रिज’को हो। कार्यक्रममा एमबाप्पेले आफूलाई सबैभन्दा बढी हँसाउने एउटा इन्टरनेट मीमबारे चर्चा गर्दै भनेका थिए, “मलाई सबैभन्दा हँसाउने मीम त्यो हो जहाँ एक व्यक्तिको भिडियो छ, मलाई लाग्छ त्यो कुनै चिनियाँ तानाशाह हो…”
त्यसपछि उक्त भिडियो क्लिपमा माओत्सेतुङको तस्बिरमा एमबाप्पेको अनुहार जोडेर बनाइएको मीम देखाइएको थियो। एमबाप्पेले यो मीम साथीहरूसँग बारम्बार प्रयोग गर्ने गरेको भन्दै हाँसेका थिए।

एमबाप्पे र ला लिगाद्वारा माफी
उक्त भिडियो सार्वजनिक भएपछि चीनमा व्यापक विरोध सुरु भयो। विवाद चर्किएपछि एमबाप्पेले विज्ञप्ति जारी गर्दै माफी मागेका छन्।
“मेरो टिप्पणी अदूरदर्शी र गलत थियो। यसले चीन र विश्वभर छरिएर रहेका चिनियाँ समुदायका धेरै मानिसहरूको भावनामा गम्भीर चोट पुर्याएको मैले बुझेको छु,” एमबाप्पेले भनेका छन्, “मेरा शब्दहरूले चित्त दुखाएका सबैसमक्ष म हृदयदेखि नै क्षमा चाहन्छु।”
यसैगरी, स्पेनी फुटबल लिग ‘ला लिगा’ले पनि औपचारिक विज्ञप्ति जारी गर्दै एमबाप्पेको टिप्पणीबाट चिनियाँ समर्थकहरूमा परेको आघातप्रति गम्भीर दुःख व्यक्त गरेको छ।

चिनियाँ बजारमा ठूलो धक्का
चीनको फुटबल फोरम ‘डोङछिउदी’ले यस विषयलाई बाहिर ल्याएपछि चिनियाँ सामाजिक सञ्जाल ‘वेइबो’मा एमबाप्पेविरुद्ध तीव्र असन्तोष पोखिएको थियो। समर्थकहरूले एमबाप्पे र उनको क्लब रियल म्याड्रिडलाई बहिष्कार गर्न माग गरेका छन्।
विवाद बढ्दै जाँदा चीनका चर्चित कर्पोरेट ब्रान्डहरूले एमबाप्पेसँगको व्यावसायिक सम्बन्ध तोड्न थालेका छन्।
चीनको सबैभन्दा ठूलो दुग्ध उत्पादक कम्पनी मेङनिउले चिनियाँ जनताको भावनामा चोट पुर्याउने कुनै पनि कार्यप्रति आफ्नो ‘शून्य सहनशीलता’ रहेको भन्दै एमबाप्पेसँगको सहकार्य अन्त्य गरेको घोषणा गरेको छ।

चर्चित पेय पदार्थ उत्पादक कम्पनी डोङपेङले पनि राष्ट्रिय भावनाको सम्मान गर्दै सम्झौता रद्द गरेको जनाएको छ।
सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार, चिनियाँ सरकारी प्रसारण संस्था सीसीटीभीले आफ्ना एप तथा डिजिटल प्लेटफर्महरूमा एमबाप्पेसँग सम्बन्धित सामग्री नराख्ने र ला लिगाका खेलहरूको प्रत्यक्ष प्रसारण रोक्ने निर्णय गरेको छ।
यता, चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चियानले पनि घटनाबारे टिप्पणी गर्दै भनेका छन्, “चिनियाँ जनताको भावनामा ठेस पुर्याउने अभिव्यक्ति र कार्यहरूको समाजका सबै तह र तप्काबाट विरोध हुनु स्वाभाविक हो।”
माओ र ‘तानाशाह’ मीमको पृष्ठभूमि
विश्व फुटबलमा उच्च प्रभाव र दबदबा रहेका कारण एमबाप्पेलाई समर्थकहरूले सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै ‘तानाशाह’ उपनाम दिएका छन्। यसै उपनामका आधारमा उनका विभिन्न ऐतिहासिक शासकहरूसँग अनुहार जोडिएका मीमहरू बन्ने गर्छन्।
अर्कातर्फ, सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गरेका माओत्सेतुङलाई चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रिय प्रतीकका रूपमा सम्मान गर्छ।
उनको शासनकालका केही नीतिहरू विवादास्पद र विनाशकारी रहे पनि चीनमा माओको इतिहास वा तस्बिरमाथि हुने कुनै पनि प्रकारको मजाक वा टिप्पणीलाई राष्ट्रिय अस्मितामाथिको प्रहारका रूपमा हेरिन्छ।
कात्तिक ११, २०८३ बुधबार ०९:१२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।