जनकपुरलाई ११३ रनमै समेट्दै कर्णाली याक्सको विजयी सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले प्रस्तुत गरेको एक सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा एक सय १३ रनमै अलआउट भयो।
जनकपुरका लागि अभिषेक तिवारीले १७ बलमा सर्वाधिक २० रन बनाए। यस्तै कप्तान हरमित सिंह र मोइन अलीले समान १९-१९ रन जोड्दा जिम्मी निसमले १५, मयन यादवले १४, अनिल साहले ११ र कुशल पेरेराले ६ रन बनाए भने तृतराज दास र ललित राजवंशी समान १-१ रनमा आउट भए।
जनकपुरलाई सस्तैमा समेट्न कर्णालीका देब्रेहाते स्पिनर युनिस विक्रमसिंह ठकुरीले ४ ओभरमा २२ रन खर्चेर तथा हुसैन तलातले ४ ओभरमा २६ रन खर्चेर समान ३-३ विकेट लिए। साथै नन्दन यादवले २.३ ओभरमा १३ रन दिएर २ विकेट तथा कप्तान सोमपाल कामीले १ विकेट हात पारे।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रनको योगफल तयार पारेको थियो। उसका लागि ओपनर आरिफुल इस्लामले २९ बलमा सर्वाधिक ४३ रन र पवन सर्राफले ३७ बलमा ३७ रन बनाए।
त्यस्तै दीपकप्रसाद डुम्रेले १३, गुलशन झाले १२, नन्दन यादवले ९/१०, हुसैन तलातले ३ तथा मार्क वाट, अकबर अली र सोमपाल कामीले समान १-१ रन जोडेका थिए। जनकपुरका लागि बलिङतर्फ कप्तान हरमित सिंहले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ३ विकेट लिँदा मोइन अली र राहुल यादवले २-२ तथा ललित राजवंशीले १ विकेट लिए।
कात्तिक १०, २०८३ मंगलबार २१:१०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।