‘अर्नब’ चक्रवातले वर्षाको सम्भावना, एनपीएलका खेल के हुन्छन्?

‘अर्नब’ चक्रवातले वर्षाको सम्भावना, एनपीएलका खेल के हुन्छन्?

काठमाडौं : बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली ‘अर्नब’ चक्रवातमा परिणत भई नेपालतर्फ सर्ने देखिएपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) प्रभावित हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि आइतबारसम्म देशका अधिकांश भू-भागमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ११ गते उक्त चक्रवात भारतको भू-भागमा प्रवेश गर्नेछ र त्यसको असर नेपालमा कात्तिक १२ गते (बिहीबार) रातिदेखि देखिनेछ।

विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार यो प्रणालीको प्रभाव तीव्र रहने प्राधिकरणले जनाएको छ।

प्राधिकरणद्वारा जारी विशेष बुलेटिनमा भनिएको छ, “कात्तिक १३ र १४ गते कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुनेछन्। यी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ।”

मौसममा आउने यस फेरबदलका कारण त्रिवि क्रिकेट मैदानमा तालिकाअनुसार सञ्चालन भइरहेका एनपीएलका खेलहरू प्रत्यक्ष प्रभावित हुने जोखिम बढेको छ।

कुन-कुन खेल प्रभावित हुनसक्छन्?
तालिका अनुसार कात्तिक १२ गते (बिहीबार) दुई खेल तय गरिएका छन्।

पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ। वर्षा रातिदेखि मात्र सुरु हुने पूर्वानुमान रहेकाले दिउँसोको पहिलो खेल सञ्चालन हुन सक्नेछ। तर, सोही दिन हुने कर्णाली याक्स र विराटनगर किंग्सबीचको दोस्रो खेलमा भने मौसम प्रतिकूल बन्ने सम्भावना छ।

कात्तिक १३ गते (शुक्रबार) कुनै पनि खेलको तालिका छैन।

प्रणालीको सबैभन्दा बढी प्रभाव रहने कात्तिक १४ गते (शनिबार) भने दुवै खेल वर्षाका कारण प्रभावित हुने उच्च जोखिम छ। शनिबार पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्ने तालिका छ।

वर्षा वा भिजेको मैदानका कारण खेल सञ्चालन हुन नसकेमा नियमअनुसार टोलीहरूले अङ्क बाँड्नुपर्नेछ, जसले प्रतियोगिताको अङ्क तालिका र प्लेअफ समीकरणमा ठूलो फेरबदल ल्याउन सक्नेछ।

कात्तिक ११, २०८३ बुधबार ०७:३३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।