विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो।
१५.५ ओभरमा पाँच विकेट गुमाएर १३२ रनको बलियो अवस्थामा रहेको विराटनगर त्यसपछि धराशायी बनेको थियो। विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए भने आन्द्रे रसेलले १७ बलमा एक चौका र ४ छक्कासहित ३३ रनको योगदान गरे। चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट भए। एन्जेलो म्याथ्यु १४ रनमा आउट भए भने लोकेश बम १४ बलमा २६ रन बनाएर आउट भए। शुभम रञ्जाने १० रनमा आउट भए।
चितवनका कमलसिंह ऐरीले चार विकेट लिए भने रिजन ढकालले दुई विकेट झारे। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले समान एकएक विकेट लिए। उनीहरूको उत्कृष्ट बलिङसँगै चितवनले रोमाञ्चक जित निकालेको हो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको थियो। चितवनका ओपनर ब्याटर डेविड मलानले अर्धशतक प्रहार गर्दै सर्वाधिक ७० रन बनाए। जारी संस्करणमा अर्धशतक प्रहार गर्ने मलान पहिलो खेलाडीसमेत बनेका छन्।
त्यस्तै, रवि बोपरा ३२ रन र ड्यान माउस्ली २९ रनमा अविजित रहे। विराटनगरका चरिथ असलंका, आन्द्रे रसल र एन्जेलो म्याथ्युजले समान एक–एक विकेट लिए।
यस जितसँगै चितवनले प्रतियोगितामा महत्त्वपूर्ण सफलता हासिल गरेको छ।
एनपीएलअन्तर्गत मंगलबार साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
कात्तिक १०, २०८३ मंगलबार १६:५४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।