एनपीएलमा जनकपुरको कसिलो बलिङ, कर्णालीले दियो १३३ रनको लक्ष्य
काठमाडौं : कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु जितका लागि १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनको योगफल तयार पार्यो। कर्णालीका लागि ओपनर आरिफुल इस्लामले ४३ र पवन सर्राफले ३७ रन जोडे।
सुरुवाती चरणमै दबाबमा परेको कर्णालीले पहिलो ओभरको अन्तिम बलमा ओपनर मार्क वाटलाई व्यक्तिगत १ रनमै गुमाएको थियो। कुल १८ रन जोड्दा दोस्रो विकेटका रूपमा दीपक डुम्रे १३ रन बनाएर आउट भए भने ३७ रनको स्थितिमा हुसेन तलत ३ रन जोडेर पेभेलियन फर्किए।
त्यसपछि आरिफुल र पवनले चौथो विकेटका लागि ४२ रनको महत्त्वपूर्ण साझेदारी गरेर इनिङ्स उकास्ने प्रयास गरे। अन्य ब्याटरमा गुल्सन झाले १२ रन जोड्नुबाहेक कसैले पनि दोहोरो अंकमा रन बटुल्न सकेनन्।
जनकपुरका बलरहरूले कर्णालीलाई मध्यम स्कोरमै रोके। कप्तान हर्मित सिंहले ३ विकेट लिए भने एनपिएलमा डेब्यु गरेका राहुल यादवले पहिलो बलमै विकेट लिँदै २ विकेट हात पारे। मोइन अलीले पनि २ तथा ललित राजवंशीले १ विकेट लिए।
यसअघि आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको थियो। कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ।
कात्तिक १०, २०८३ मंगलबार १९:२५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।