एनपीएल : मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

एनपीएल : मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ। 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १५७ बनायो। चितवनले पावर प्लेमै ५० रन जोड्यो। राइनोजका तर्फबाट ब्याटिङ गर्दै डेभिड मलानले ५१ बलमा ५ छक्का र ५ चौका प्रहार गर्दै सर्वाधिक ७० रन बनाए। यो एनपीएलको पहिलो अर्धशतक हो।

मलानले ओपनर देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे। देव खनाल १५ बलमा १२ रन बनाएर आउट भए। अर्जुन साउद ९ बलमा ३ रन बनाएर पभेलियन फर्किए। 

यस्तै, रवि बोपारा र डान मोस्लीले ६७ रनको साझेदारी गरे। रवि ३२ र डान २९ रनमा नटआउट रहे। नियमित कप्तान कुशल मल्ल प्लेइङ–११ मा नरहेपछि चितवनको नेतृत्व बोपाराले गरेका थिए।

विराटनगरका लागि आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाले समान १–१ विकेट लिए।

आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै छन्।

कात्तिक १०, २०८३ मंगलबार १४:५०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।