‘ग्रान्ड डिजाइन’को चक्रमा जेनजी शहीद र घाइते परिवार

‘ग्रान्ड डिजाइन’को चक्रमा जेनजी शहीद र घाइते परिवार

सुशासन, भ्रष्टाचारमुक्त र विधिको शासनको माग लिएर आन्दोलनमा होमिँदा राज्यको निर्मम बल प्रयोगबाट जीवन गुमाएका जेनजी शहीद तथा घाइतेहरूप्रति मेरो निष्ठा र सम्मान सदैव अटल रहनेछ।

उनीहरूको त्याग र बलिदानको कदर हुनैपर्छ- त्यो रगतको अपमान गर्ने अधिकार कसैलाई छैन। यदि कसैले त्यस्तो दुस्साहस गर्छ भने तिनीहरूलाई कानुनको कठघरामा उभ्याउनुपर्छ भन्नेमा मेरो मनमा अन्य मत छैन। तर आजको मुख्य प्रश्न हो- वास्तवमा जेनजी शहीदको अपमान कसले गरिरहेको छ ?

थोरै जनसंख्या भएको हाम्रो देशमा  संसारकै सबैभन्दा लामो शहीदको सूची बन्दैछ। झन्डै तीन वर्षअघि (२०८० फागुन २४) राजपत्रमा प्रकाशित गृह मन्त्रालयको तथ्याङ्कअनुसार नै १४ हजार ६०८ जना शहीदको सूचीमा छन्। आजको मितिसम्म यो संख्या कहाँ पुग्यो होला? र, अबको एक दशकमा यो संख्या कति पुग्ला? केही संख्याबाट हजारौं हुँदै लाखौँमा शहीदको संख्या पुग्दा ‘शहीद’ को गरिमा, ओज र कद उच्च भइरहेको छ कि झन् खस्किँदैछ?

जसको एक आव्हानमा देशका कलिला जेनजीहरू सडकमा उत्रिए, गोली छातीमा थापे र सहादत प्राप्त गरे- आज तिनै नेताहरूले उनीहरूको स्मृतिमा सहादत पाएको स्थानमा आएर श्रद्धा व्यक्त गर्नु त परको कुरा श्रद्धाञ्जलीका  शब्दका लागि पनि याचना गर्नु पर्यो। 

कुनै आपराधिक घटना, स्थानीय झडपमा ज्यान गुमाउनेहरूलाई समेत ‘शहीद’ घोषणा गर्दा देश परिवर्तनका लागि छातीमा गोली थाप्ने राणाकालदेखि जेनजीकालसम्मका शहीदहरुसँग उनीहरूलाई एउटै तराजुमा राख्नु जायज हो? 

नेतृत्वको दोहोरो चरित्र

जेनजी आन्दोलनपछि भएको निर्वाचनपछि पनि ‘संसद् भवनबाट घिसार्छौं’,‘पुनः रक्तपात मच्चाउँछौं', 'भदौ २४ भन्दा पनि भीषण ताण्डव मच्चाउँछौं’ जस्ता आवेगात्मक धारणा रोकिएको छैन। यस्ता शब्द अधिकांश उही जेनजी आन्दोलनको बलमा संसद र सत्तामा पुगेकाहरुबाटै सुनिएको छ।

के यो जेनजी शहीदप्रतिको सम्मान हो त? देशलाई चिहान बनाउने धम्की दिनु शहीदको सपनाको बाटो पछ्याउनु हो कि  अवहेलना ?

हाम्रा छोराछोरीसँगै आन्दोलनमा होमिएका, अंगभंग भएका घाइते जेन्जीहरू आज पनि किन सडकमा भौतारिन विवश छन्। तर हाम्रा सन्ततिको बलिदान केवल सत्ता-सिँढी मात्रै थियो भनेर आफ्ना सन्तान गुमाएका आमाबुबाहरूले सोध्न सकिरहेका छैनन्। कारण यो सरकार उनीहरूकै सन्तानको बलिदानको जगमा बनेको हो। आफ्नै सन्तानको बलिदानमाथि यति चाँडै प्रश्न गर्न उनीहरुको मनले मानिरहेको छैन।

जसको एक आव्हानमा देशका कलिला जेनजीहरू सडकमा उत्रिए, गोली छातीमा थापे र सहादत प्राप्त गरे- आज तिनै नेताहरूले उनीहरूको स्मृतिमा सहादत पाएको स्थानमा आएर श्रद्धा व्यक्त गर्नु त परको कुरा श्रद्धाञ्जलीका  शब्दका लागि पनि याचना गर्नु पर्यो।  जो आए तीनले स्मृति सभालाई राजनीतिक रंगमञ्च बनाएर गए।

सहिद दिवसकै दिन कानुनमन्त्रीबाट निर्लज्ज झूट बोलिनु, गृहमन्त्रीले जनतालाई धम्क्याउने भाषा प्रयोग गर्नु र अनावरणको लागि राखिएका शालिकको मुहार नै शहीदसँग नमिल्नु- यो भन्दा ठूलो अपमान र लज्जास्पद विषय अर्को के हुन सक्ला?

नौटंकीको राजनीति र आदर्शको हत्या
न हाँस्ने ठेगान छ, न रुने! कहिले ‘चुनाव हुन दिँदैनौँ’ भनेर गर्जिने, त कहिले राजनीतिक नाटक मञ्चन गर्ने,‘म त पानी बाँड्ने सामान्य स्वयंसेवक हुँ’ भन्ने, तर भित्रभित्रै ‘म नै आन्दोलनको सर्वेसर्वा हुँ’ भनेर दम्भ देखाउने!, ‘मलाई राजनीति आउँदैन, सिक्न आएको हुँ’ भन्ने, फेरि ‘म त राजनीति सिकाउन आएको हुँ’ भनेर उपदेश पनि दिने!, ‘मन्त्री बने भने बीचबाटोमै जलाउनु’ भन्ने, अनि मन्त्रीबाट हट्नासाथ पदको बार्गेनिङ गर्ने! , ‘हामी कुनै पार्टीमा लाग्दैनौँ, तलब-भत्ता लिँदैनौँ’ भन्दै आदर्श छाँट्ने, तर व्यवहारमा उही सत्ता र सुविधाको खेलमा लिप्त हुने!

स्मृति सभालाई धम्की सभा बनाउने अनि विवादित धार्मिक पात्रहरूलाई अतिथि बनाउने काम जायज नै थियो त? गृहमन्त्री सुधन गुरुङको पक्षमा बोले। जेनजी शहीद केवल सुधनको मात्र हुन् त? जेनजीको सपना सुधनलाई स्वयंसेवकबाट सांसद हुँदै मन्त्री बनाउनु नै थियो त!

प्रेस विज्ञप्तिमा ‘देशको स्वार्थभन्दा माथि उठौँ’ भन्ने, शहीदको मञ्चमा राजनीति नगर्न चेतावनी दिने तर आफैँ सरकारमा रहेका मन्त्रीको व्यवहारमाथि भएको जायज आलोचनाको पक्षमा ‘फलानो मन्त्रीलाई केही भनिस् भने खैरियत छैन’ भन्दै धम्की दिने। शहीदप्रतिको निष्ठा यही हो त! 

यो घानमा परिन् क्रान्तिशिखा। शहीद परिवारकै सदस्यबाट उनीमाथि जेन्जी शहीदहरूको अपमान गरेको गम्भीर आरोप लाग्यो। स्मृति सभालाई धम्की सभा बनाउने अनि विवादित धार्मिक पात्रहरूलाई अतिथि बनाउने काम जायज नै थियो त? गृहमन्त्री सुधन गुरुङको पक्षमा बोले। जेनजी शहीद केवल सुधनको मात्र हुन् त? जेनजीको सपना सुधनलाई स्वयंसेवकबाट सांसद हुँदै मन्त्री बनाउनु नै थियो त!

शहीदको खिल्ली उडाउनु हुँदैन, शहीदको नाममा घिनलाग्दो राजनीति बन्द गरिनुपर्छ भन्नु गलत हो?  जिउँदो छँदा सरकारका गलत कदम विरुद्ध लडेका शहीदहरूको स्मृतिमा प्रश्न गर्ने परिपाटीलाई ‘अपराध’ ठहर नगरौँ भन्नु गल्ती हो?

सत्ताको सिंहासनमा पुगेर ठीक त्यसको विपरीत बाटो हिँड्दा र त्यो द्वैध चरित्रमाथि प्रश्न उठाउँदा कसैको व्यक्तिगत अहङ्कारमा चोट पुग्छ भने त्यसलाई ‘शहीदको अपमान’ भन्ने भाष्य निर्माण गर्नु जायज हो?

एउटा व्यक्तिको स्वार्थ, अहमता र अक्षमता जोगाउन सिङ्गो जेन्जी शहीद तथा घाइतेहरूको बलिदानलाई दाउमा राख्नु कतिसम्म जायज हो? त्यो भाषा कसको हो? जवाफदेही सरकारको माग गर्दै आन्दोलनमा होमिँदा शहीद र घाइते भएकाहरूको भाषा त पक्कै हैन। 

जेनजी शहिदहरु हिजो तपाइहरुको सन्तान मात्र थिए। पहिलो हक तपाइहरुको थियो। आज ती राष्ट्रका शहीद हुन्। तीनका सपना र सम्मानमा सबको हक लाग्छ। परिवार हुन् या दल वा जेनजी आन्दोलनका अगुवा, उनीहरू माग लिएर सडकमा जाँदा शहीद भए त्यसलाई कुनै ब्यक्ती वा समूहको स्वार्थमा दुरुपयोग गर्नु अपराध हो। आन्दोलनको अपमान हो।

अन्त्यमा,
एकपटक आफ्नो आत्मालाई सोध्नुहोस्- सच्चिनुपर्ने कसले हो? गल्ती कसको हो? अनि पर्दापछाडि बसेर कसले कसलाई गोटी बनाइरहेको छ? कतै शहीद र घाइते परिवार कुनै अदृश्य ‘ग्रान्ड डिजाइन’को चक्रमा फस्दै त छैनौं ! 

असोज ४, २०८३ आइतबार २०:५७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।