इङ्गल्याण्डका स्टार क्रिकेटर डाविड मलान चितवन राइनोजमा आबद्ध, आजै मैदान उत्रिने
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै प्रारूप (टेस्ट, एकदिवसीय र टी-२०) मा शतक प्रहार गरिसकेका इङ्गल्याण्डका चर्चित ब्याटर डाविड मलान जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजबाट खेल्ने भएका छन्।
एनपीएलअन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोज र विराटनगर किङ्ग्स आमनेसामने हुँदैछन्।
सोही खेलमार्फत मलान मैदानमा उत्रने तयारीमा रहेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिए। आक्रामक र धैर्यपूर्ण ब्याटिङका लागि सुपरिचित मलानले गत संस्करणको एनपीएलमा पनि चितवनबाटै खेलेका थिए।
३७ वर्षीय मलान इङ्गल्याण्डले सन् २०२२ को टी-२० विश्वकप जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए। बायाँहाते ब्याटर तथा लेगब्रेक बलर रहेका उनी आईसिसी टी-२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयताको शीर्ष स्थानमा समेत पुगिसकेका खेलाडी हुन्।
मलानले इङ्गल्याण्डका लागि २२ टेस्ट खेलमा १ हजार ७४ रन बनाएका छन्, जसमा उनको उच्चतम स्कोर १४० रन छ।
त्यस्तै, ३० एकदिवसीय खेल खेल्दै १ हजार ४५० रन बनाएका उनको यो प्रारूपमा पनि व्यक्तिगत उच्च स्कोर १४० रन नै रहेको छ।
टी-२० अन्तर्राष्ट्रियतर्फ भने उनले ६२ खेलमा १ हजार ८९२ रन जोडेका छन्, जहाँ उनको उच्चतम स्कोर १०३ रन रहेको छ।
एनपीएलको पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा भने सातौँ स्थानमा सीमित भएको थियो। अनुभवी मलानको पुनरागमनले टोलीको ब्याटिङ थप मजबुत हुने विश्वास लिइएको छ।
कात्तिक १०, २०८३ मंगलबार ११:३७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।