ह्यारी केनलाई बालोन डि'ओर, २५ वर्षपछि इंग्लिस खेलाडी उत्कृष्ट घोषित
एजेन्सी : इंग्ल्यान्ड तथा बायर्न म्युनिखका ३३ वर्षीय स्ट्राइकर ह्यारी केनले यस वर्षको प्रतिष्ठित ‘बालोन डि’ओर’ अवार्ड जितेका छन्।
लन्डनमा आयोजित एक विशेष समारोहमा फ्रान्सका केलियन एमबाप्पे र स्पेनका लामिन यामललाई पछि पार्दै उनी विश्वको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
यससँगै केन सन् २००१ मा माइकल ओवेनपछि बालोन डि’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। उनी यो उपाधि हात पार्ने समग्रमा पाँचौँ इंग्लिस तथा सन् १९८१ पछि बायर्न म्युनिखका पहिलो खेलाडी हुन्।
गोलको ऐतिहासिक कीर्तिमान
गत सिजन टोलीले विश्वकप र च्याम्पियन्स लिगको उपाधि जित्न नसके पनि केनको व्यक्तिगत प्रदर्शन असाधारण रह्यो।
उनले बायर्नलाई घरेलु ‘डबल’ (बुन्डेसलिगा र जर्मन कप) दिलाउने क्रममा क्लबका लागि मात्रै ५१ खेलमा ६१ गोल गरे।
राष्ट्रिय टोली इंग्ल्यान्डका खेलसहित जोड्दा उनले गत सिजन ६५ खेलमा ७३ गोल र ८ असिस्टको कीर्तिमान बनाए।
इतिहासमा एकै सिजनमा योभन्दा धेरै गोल गर्ने खेलाडीमा लियोनल मेस्सी (सन् २०११-१२ मा ८२ गोल) मात्र अगाडि छन्।
गर्वको क्षण
उपाधि जितेपछि केनले कडा मिहिनेत र आत्मबलले नै आफूलाई यो स्थानसम्म पुर्याएको बताए।
उनको ऐतिहासिक सफलतापछि इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेल र राजकुमार विलियमले बधाई दिँदै देशकै लागि ठूलो सम्मान भएको बताएका छन्।
केनको जितको सम्मानमा सोमबार राति वेम्बली रंगशालाको मुख्य आर्चलाई सुनौलो बत्तीले सजाइएको थियो।
कात्तिक १०, २०८३ मंगलबार ०७:२३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।