आनी छोइङको नियुक्तिको विरोध दबाउन अक्रम खानलाई पक्राउ गरिएको महाअभियानको आरोप, तत्काल रिहा नगरे आन्दोलन गर्ने चेतावनी

आनी छोइङको नियुक्तिको विरोध दबाउन अक्रम खानलाई पक्राउ गरिएको महाअभियानको आरोप, तत्काल रिहा नगरे आन्दोलन गर्ने चेतावनी

बुटवल : लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानलाई प्रहरीले मध्यराति उनकै घरबाट पक्राउ गरेको घटनाप्रति महाअभियानले आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ।

महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै खानको पक्राउलाई गैरकानुनी र स्वेच्छाचारी कदमको संज्ञा दिएका छन्।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारी निर्णयविरुद्ध नागरिकस्तरबाट भएका शान्तिपूर्ण विरोध प्रदर्शन तथा असहमतिलाई दबाउने उद्देश्यले खानलाई पक्राउ गरिएको महाअभियानको आरोप छ।

शान्तिपूर्ण ढङ्गले विरोध गर्ने र आफ्ना विचार राख्ने अधिकार नागरिकका मौलिक हकभित्र पर्ने बताउँदै सरकारको यस कदमले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रहार भएको विज्ञप्तिमा औंल्याइएको छ।

साथै, पक्राउ गर्ने क्रममा कुनै पनि कानुनी प्रक्रिया पूरा नगरिएको तथा पक्राउको स्पष्ट कारणसमेत तत्काल जानकारी नगराइएको महाअभियानको दाबी छ। यस्तो कार्यले मानवअधिकार र विधिको शासनको उपहास गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

लुम्बिनी बचाउ महाअभियानले नेपाल सरकार, गृह मन्त्रालय तथा स्थानीय प्रशासनसँग संयोजक खानको तत्काल रिहाइको माग गरेको छ।  माग समयमै सम्बोधन नभएमा तथा हिरासतमा कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिइएमा त्यसबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम् सरकार र प्रशासन हुने चेतावनीसमेत दिएको छ।

महाअभियानले लोकतन्त्र, नागरिक अधिकार र लुम्बिनीको गरिमा रक्षाका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाउएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) को तस्बिर जलाएको आरोपमा उनलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ। सरकारले गत असोज ३० गते मन्त्रिपरिषद् बैठकमार्फत गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि महाअभियानले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ।

कात्तिक १०, २०८३ मंगलबार ११:००:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।