कात्तिक १५ पछि मात्र धान भित्र्याउन किसानलाई कृषि कार्यालयको आग्रह
धादिङ : कृषि विकास कार्यालय धादिङले मौसमको अवस्था ख्याल गरेर कात्तिक १५ गतेपछि मात्र धान काट्न तथा भित्र्याउन किसानहरूलाई आग्रह गरेको छ।
कार्यालयले ‘धानबाली काट्ने तथा भित्र्याउनेसम्बन्धी’ सूचना जारी गर्दै यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।
सूचनाअनुसार पाकिसकेको धान सुरक्षित रूपमा तत्काल भित्र्याउन सकिने अवस्था भए आजै (१० कात्तिक) सम्म भित्र्याइसक्न भनिएको छ।
यदि आजै भित्र्याउन सम्भव नभए धान नकाट्न र कात्तिक १५ गतेपछि मौसममा सुधार आएपछि मात्र काट्न कार्यालयले सुझाएको छ।
यसैगरी, धान नपाकेका खेतहरूमा कुलो तथा नाली काटेर पानी निकासको उचित व्यवस्था मिलाउन आग्रह गरिएको छ।
हावाहुरी वा वर्षाका कारण धान ढलेको भए बाला पानीमा डुबेर क्षति हुन नदिन मुठो पारेर ठड्याउन वा अग्लो ठाउँमा राख्ने प्रबन्ध गर्नसमेत किसानहरूलाई सुझाव दिइएको छ।
कात्तिक १०, २०८३ मंगलबार ०९:११:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।