बंगालको खाडीमा अर्को चक्रवात बने ‘अर्नब’को प्रभाव नेपालमा कमजोर हुने

बंगालको खाडीमा अर्को चक्रवात बने ‘अर्नब’को प्रभाव नेपालमा कमजोर हुने

काठमाडौं : भारतको तटीय क्षेत्रतर्फ अघि बढिरहेको चक्रवात ‘अर्नब’का कारण नेपालमा पनि मौसमी प्रभाव देखिने भएको छ। यस प्रणालीका कारण नेपालका गण्डकीदेखि कोशी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ आज अपराह्न वा साँझ भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने देखिएको छ। नेपालमा यसको प्रभावस्वरूप भोलिदेखि नै आकाशमा बादल लाग्न थाल्ने र बिहीबारदेखि वर्षा सुरु हुने सम्भावना रहेको छ।

पूर्वानुमानमा दुई सम्भावना
विभिन्न मौसम मोडेलहरूको विश्लेषण गर्दै मौसमविद् पोखरेलले पछिल्लो २४ घण्टामा ‘जीएफएस’ मोडेलको पूर्वानुमानमा ठूलो परिवर्तन देखिएको बताएका छन्।

उनका अनुसार उक्त मोडेलले अर्को चक्रवात विकास हुने सङ्केत देखाउँदै ‘अर्नब’बाट नेपालमा पर्ने जोखिम कम हुने देखाएको छ। तर, अन्य मोडेलहरूले भने तत्काल अर्को प्रणाली विकास हुने स्पष्ट सङ्केत दिएका छैनन्।

यस अवस्थामा मुख्यतया दुई सम्भावना देखिएको उनले उल्लेख गरेका छन्।

अर्को चक्रवात बनेमा  त्यसले ‘अर्नब’लाई कमजोर बनाउनेछ। यस्तो अवस्था आएमा नेपालमा भारी वर्षाको जोखिम घट्नेछ र सोमबारसम्म हल्का वर्षा मात्र हुनेछ।

तर अर्को चक्रवात नबनेमा वा ढिलो विकास भएमा बिहीबारदेखि शनिबारसम्म नेपालमा भारी वर्षाको सम्भावना कायमै रहनेछ। हाल अधिकांश मौसम मोडेलहरूले यही अवस्था देखाइरहेका छन्।

किसान र यात्रुलाई सतर्क रहन अपिल
सातवटा प्रमुख मोडेलहरूको समग्र विश्लेषण गर्दा नेपालमा अझै पनि भारी वर्षाको जोखिम उच्च नै देखिएको मौसमविद् पोखरेलको भनाइ छ। मौसमी प्रणालीको विकास र प्रभावबारे पूर्वानुमान गर्न निकै चुनौतीपूर्ण भइरहेकाले आगामी अपडेटहरू नियमित रूपमा हेर्न उनले सुझाएका छन्।

विशेषगरी गण्डकीदेखि कोशी प्रदेशसम्मका भूभाग बढी प्रभावित हुन सक्ने आँकलन गरिएकाले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

साथै, हाल धान भित्र्याउने समय भएकाले किसानहरूलाई पनि काटेको वा काट्न बाँकी धानबाली सुरक्षित राख्न आवश्यक पूर्वतयारी गर्न अपिल गरिएको छ।

कात्तिक १०, २०८३ मंगलबार ०७:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।