मन्त्रीको तस्बिर जलाएको आरोपमा लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

मन्त्रीको तस्बिर जलाएको आरोपमा लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

बुटवल : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारी निर्णयविरुद्ध आन्दोलनरत ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्रम खान पक्राउ परेका छन्।

प्रहरीले खानलाई सोमबार राति रूपन्देहीस्थित उनकै घरबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) को तस्बिर जलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

सरकारले गत असोज ३० गते मन्त्रिपरिषद् बैठकमार्फत गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि महाअभियानले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ।

संयोजक खानको गिरफ्तारीपछि महाअभियानका प्रवक्ता रामविकास चौधरीले आपत्ति जनाउँदै उनलाई तत्काल र बिनासर्त रिहा गर्न माग गरेका छन्।

कोषको उपाध्यक्ष नियुक्तिलाई लिएर स्थानीय तथा सरोकारवाला विभिन्न पक्षबाट विरोध जारी छ।

कात्तिक १०, २०८३ मंगलबार ०९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।