नारायणी पुलबाट नदीमा हामफालेका पुरुषको उपचारका क्रममा मृत्यु
चितवन : चितवनको भरतपुरस्थित नारायणी नदीको पुलबाट हामफालेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
प्रहरीका अनुसार सोमबार साँझ करिब ५:३५ बजे भरतपुर महानगरपालिका-३ पुलचोकस्थित नारायणी नदीको पुलबाट अन्दाजी ५०-५२ वर्षका ती पुरुषले नदीमा हामफालेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी सहायक निरीक्षक सुवास राईको नेतृत्वमा खटिएको विपद् व्यवस्थापनसहितको प्रहरी टोलीले तत्काल उनको उद्धार गरेको थियो।
उद्धारपछि गम्भीर तथा अचेत अवस्थामा उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको थियो। अस्पतालमा उपचारकै क्रममा साँझ करिब ७:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कात्तिक १०, २०८३ मंगलबार ०८:५६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।