एनपीएलको पहिलो खेलमा निरीह देखियो सुदूरपश्चिम, ब्याटर र बलर नचल्दा लुम्बिनीसँग ‘सरेन्डर’

एनपीएलको पहिलो खेलमा निरीह देखियो सुदूरपश्चिम, ब्याटर र बलर नचल्दा लुम्बिनीसँग ‘सरेन्डर’

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सुरुआतसँगै साबिक विजेता लुम्बिनी लायन्सले आफ्नो वर्चस्व पुनः स्थापित गर्दै सोमबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले सहजै पराजित गर्यो। उसले उद्घाटन खेलमा उत्कृष्ट सुरुआत मात्र गरेन, गत दोस्रो सिजनको फाइनल नतिजाको झल्कोसमेत दिलायो।

गत दोस्रो सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई जम्मा ८५ रनमा समेटेर ६६ बल बाँकी छँदै ६ विकेटको जित निकालेको थियो। तेस्रो सिजनको उद्घाटन खेल पनि ठ्याक्कै त्यस्तै लयमा रह्यो।  खेलमा लुम्बिनीको सन्तुलित टोली संरचना, घातक बलिङ, र आक्रामक ब्याटिङ रणनीति स्पष्ट देखियो। उता सुदूरपश्चिमको टोलीको शीर्ष र मध्यक्रमको ब्याटिङ निकै कमजोर देखायो। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १७.२ ओभरमा पुग्दा सबै विकेट गुमाएर जम्मा ८७ रन मात्र बनाएको थियो। टिमका ब्याटर नचल्दा कप्तान दीपेन्द्रसिंह ऐरीले बनाएको २७ रन नै सबैभन्दा ठूलो स्कोर बन्यो। ओपनर सैफ जैवले १३ रन बनाए बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। शेर्फन रदरफोर्ड, ब्रान्डन म्याकमुलेन जस्ता प्रमुख ब्याटरहरू भए पनि टोलीको संकट टरेन।

लुम्बिनीको जितको मुख्य आधार टोलीको धारिलो बलिङ रह्यो। कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोज्ने निर्णयलाई बलरहरूले पूर्ण रूपमा सही निर्णय प्रमाणित गरे।

किशोर महतोले आफ्नो ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। उनले आरिफ शेख, ब्रान्डन म्याकमुलेन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीलाई पेभेलियन पठाएका थिए। शेर मल्लले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। साड्ली भान शाकवाइक, तिलकराज भण्डारी र कप्तान रोहित पौडेलले समान १-१ विकेट लिए।

 डार्सी सर्ट र आसिफको आक्रामक ओपनिङ

८८ रनको सामान्य लक्ष्य पाएर मैदानमा उत्रिएको लुम्बिनीका लागि खेल जित्न कुनै समस्या देखिएन। ओपनरद्वय डार्सी सर्ट र आसिफ शेखले नै पहिलो विकेटका लागि ६.२ ओभरमा ७१ रन बनाइसकेका थिए। सुदूरपश्चिमको ब्याटर मात्रै हैन बलर पनि निरीह नै देखिए।

डार्सी सर्टले त १८ बलमा ४ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ४० रन बनाएका थिए। आसिफ शेखले ३२ रनको महत्त्वपूर्ण योगदान दिए। निरोशन डिक्वेला ७ रनमा आउट भए पनि शमिम हुसेन १ रन र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहँदै ५९ बल (९.५ ओभर) बाँकी छँदै ३ विकेटको क्षतिमा लक्ष्य पूरा भयो।

नेपालमा पहिलो पटक 'डीआरएस' को प्रयोग

यस खेल नेपाली क्रिकेट इतिहासमै प्रविधिको प्रयोगका हिसाबले एउटा नयाँ कोसेढुङ्गा साबित भयो। नेपालमा पहिलो पटक डिसिजन रिभ्यू सिस्टमको प्रयोग गरियो। दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका बलर शेर मल्लले एलबीडब्लुको अपिल गरेका थिए। अम्पायरले आउट नदिएपछि कप्तान रोहित पौडेलले एनपीएल इतिहासकै पहिलो डीआरएस लिए। यद्यपि, यो रिभ्यू असफल भयो।

मंगलबार हुने दुई खेलहरू:

-पहिलो खेल (दिउँसो १२:३० बजे): विराटनगर किंग्स विरुद्ध चितवन राइनोज

-दोस्रो खेल (साँझ ५:०० बजे): कर्णाली याक्स विरुद्ध जनकपुर बोल्ट्स

कात्तिक ९, २०८३ सोमबार २१:०६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।