गुल्मीमा भएको गाडी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो
बुटवल : गुल्मीको कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार साँझ भएको सवारी दुर्घटनामा ज्यान गुमाएका सबै ६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुदीप नेपालीका अनुसार मृत्यु हुनेमा गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोट घर भई हाल स्याङ्जाको वालिङमा बस्दै आएका करिब ५० वर्षीय लोकनाथ पाण्डे, सीता पाण्डे र उमेर नखुलेका कुलानन्द पाण्डे रहेका छन्।
त्यसैगरी, दुर्घटनामा गाडी चालक स्याङ्जाको वालिङ नगरपालिका-२ का ६७ वर्षीय दिलीपकुमार बगाले र वालिङ-१० का ६० वर्षीय शिव पराजुलीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी वालिङ नगरपालिका-२ की नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा गुल्मीको कालीगण्डकी गाउँपालिका-१ सिरकोटका छविलाल पाण्डे, स्याङ्जाको वालिङकी करिब ५५ वर्षीया गोमता पाण्डे र वालिङ नगरपालिका-१० का बालकृष्ण सुवेदी रहेका छन्।
प्रहरीका अनुसार छविलाल पाण्डे र बालकृष्ण सुवेदीको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। गोमता पाण्डेलाई भने थप उपचारका लागि पाल्पास्थित मिसन अस्पतालमा लगिएको छ।
दुर्घटनापछि उद्धार तथा आवश्यक व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार सोमबार साँझ करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको गाडी कालीगण्डकी गाउँपालिका-२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डबाट खसेको थियो।
अनियन्त्रित भएर सडकबाट करिब २०० मिटर तल खसेको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक ९, २०८३ सोमबार २०:२७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।