एनपिएल ३ मा सट्टेबाजहरुको नजर : नेपालमा प्रतिबन्धित तर अन्तर्राष्ट्रिय बेटिङ प्लेटफर्महरूमा खुला, लुम्बिनी बलियो
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले मैदानभित्र र बाहिर ठूलो उत्साह जगाइरहेको बेला, अन्तर्राष्ट्रिय सट्टा बजारमा एनपिएलका खेलको सट्टा सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले एनपिएल तेस्रो श्रृंखलाको उद्घाटन गरेका थिए।
नेपालमा प्रतिबन्ध भए पनि विश्वभरका अनलाइन बेटिङ प्लेटफर्महरूमा एनपिएलका खेलहरू व्यापारिक र जुवाको नयाँ माध्यम बनेका छन्। अन्तर्राष्ट्रिय बेटिङ र गेमिङ बजारमा नेपाल प्रिमियर लिगलाई मुख्य सूचीमा राखेर करोडौँको कारोबार भइरहेको छ। नेपालको जुवा बजारमा प्रभाव बढाएको विभिन्न बेटिङ साइटहरूमा उद्घाटन खेलकै रेट तोकिएको छ।
एनपिएलका खेलहरूका लागि प्रिम्याच र लाइभ बेटिङका विकल्पसँगै विजेताको अनुमान मात्र नभई ओभर-अण्डर रन, पावरप्ले स्कोर, छक्का-चौकाको सङ्ख्या र व्यक्तिगत खेलाडीको प्रदर्शनमा समेत सट्टाबाजी गराइँदैछ।
क्रिप्टोकरेन्सीमार्फत सट्टाबाजी गराउने स्टेक डटकममा समेत एनपिएलका प्रत्येक म्याचलाई लाइभ स्ट्रिम गर्दै डिजिटल मुद्रामार्फत सट्टाबाजी खुलाएको छ।
जुवा बजारमा लुम्बिनी बलियो
विभिन्न बेटिङ साइटहरूको दर तुलना गर्ने अड्सचेकर नामक एग्रिगेटर प्लेटफर्ममा पनि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स लगायतका टिमहरूको जित्ने रेट (जस्तै लुम्बिनीको १.७० र सुदूरपश्चिमको २.१० सम्मको रेट) सार्वजनिक गरिएको छ।
अहिले भइरहेको खेलबारे सट्टा बजारमा चलेको जित्ने सम्भावना (Odds) मा लुम्बिनी लायन्सको बढी देखिन्छ। लुम्बिनी लायन्सको १.७० - १.७५ (३/४) र सुदूरपश्चिम रोयल्समा २.०७ - २.१० (११/१०) रहेको छ। सुरुआती अड्सका आधारमा लुम्बिनी लायन्सलाई जितको दाबेदार मानेको देखिन्छ।
म्याच फिक्सिङको जोखिम
अन्तर्राष्ट्रिय बजारमा एनपिएलका लागि आकर्षक 'अड्स' र प्लेटफर्महरू उपलब्ध भए पनि नेपालभित्र भने यी गतिविधिहरू निषेधित छन्। एनपिएलको पहिलो र दोस्रो सिजनमा भने क्यानले नै मिडिया पाट्नरको आवरणमा अनलाइन बेटिङ गराउने एपको प्रचार गराएको थियो। तर यस पटक सरकारले नै प्रतिबन्ध लगाएकाले गभर्निङ काउन्सिलका प्रमुख पारस खड्काले मिडिया पाट्नरको आवरणमा छद्म रूपमा बेटिङ साइटको प्रचार गर्न सकेनन्।
नेपालमा प्रतिबन्धित भए पनि अन्तर्राष्ट्रिय सट्टा बजारमा क्रिकेटलगायतका खेलहरूमा बेटिङ हुनु सामान्य जस्तै बन्दै गएको देखिन्छ। तर यसले खेलको मर्म र भविष्यमा गम्भीर असर पार्ने गरेको छ।
त्यसको प्रभाव एनपिएलमा पनि देखिन्छ। नेपालमा पहिलो पटक भएको टी-२० लिगमा त म्याच फिक्सिङकै घटना सार्वजनिक भएको थियो। एनपिएलको दोस्रो सिजनमा स्पट फिक्सिङको प्रस्ताव लिएर एजेन्टले एनपिएलको खेलाडीलाई होटेलमै भेटेको घटना सार्वजनिक भएको थियो।
जब कुनै घरेलु वा उदीयमान लिगमा अन्तर्राष्ट्रिय सट्टा बजारको ठूलो पैसा भित्रिन्छ, तब बेटिङ सिन्डिकेट वा सट्टेबाजहरूको नजर खेलाडी र म्याच अफिसियलहरूसम्म पुग्ने उच्च जोखिम रहन्छ। ‘स्पट फिक्सिङ’ (म्याचको निश्चित ओभर वा बलमा निश्चित घटना गराउने) जस्ता आपराधिक गतिविधिले खेलको निष्पक्षतामाथि प्रश्न उठाउँछ।
सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत आफ्ना पक्षमा वा विपक्षमा हुने करोडौँको हारजितको चर्चाले उदीयमान र युवा खेलाडीहरूलाई मनोवैज्ञानिक दबाब सिर्जना गर्न सक्छ।
खेलको मनोरञ्जन लिनुपर्ने दर्शकहरू जब छिटो पैसा कमाउने प्रलोभनमा परेर अनलाइन बेटिङ एपतर्फ आकर्षित हुँदा, सामाजिक विचलन र आर्थिक बर्बादी निम्त्याउने जोखिम बढ्छ। खेलमा हुनसक्ने मिलेमतो रोक्न यसपालि अन्तराष्ट्रिय टिमदेखि प्रहरीको विशेष टिम समेत परिचालन गरिएको छ।
कात्तिक ९, २०८३ सोमबार १८:११:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।