गुल्मीमा स्कारपियो दुर्घटना : छ जनाको मृत्यु, तीन घाइते

गुल्मीमा स्कारपियो दुर्घटना : छ जनाको मृत्यु, तीन घाइते

बुटवल : गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दभौखानीमा सोमबार दिउँसो स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

स्याङ्जाको वालिङबाट हिलेसिद्ध दर्शनका लागि आएका दर्शनार्थी चढेको गण्डकी प्रदेश बीएए ०२२० नम्बरको स्कारपियो अनियन्त्रित भएर सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए।

मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन्। घाइते तीन जनाको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। मृतक तथा घाइतेको पहिचान भने खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनास्थल पूर्तिघाट प्रहरी चौकीबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ।

दुर्घटनाको खबर पाए लगत्तै प्रहरी चौकी पूर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

कात्तिक ९, २०८३ सोमबार १८:३५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।