विमानस्थलको कार्गो कम्प्लेक्सबाट विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

विमानस्थलको कार्गो कम्प्लेक्सबाट विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्स भवनको ‘ए’ साइडमा रहेको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा उक्त चुरोट फेला परेको हो।

गत असोज ३० गते साँझ साढे ७ बजेतिर ‘स्काईकिङ लजिस्टिक प्रालि’मार्फत विदेश पठाउन लागिएको कार्गो सामान स्क्रिनिङ गर्दा एउटा कार्टुन शङ्कास्पद देखिएको थियो। 

उक्त कार्टुन खोलेर हेर्दा आवश्यक कागजातबिना अवैध रूपमा लैजान लागिएको ‘सूर्य लग्जरी किङ’ लेखिएको १०० बण्डल (एक हजार प्याकेट) चुरोट फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

बरामद गरिएको चुरोटलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

कात्तिक ९, २०८३ सोमबार १८:२०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।