झापाको अलकत्रा प्लान्टमा आगलागी हुँदा २० लाख बराबरको क्षति, एक जना घाइते
भद्रपुर : झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएको छन् भने करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीमा परी ट्रक चालक इलामको माङसेबुङ गाउँपालिका–३ का ३५ वर्षीय काफियात राई घाइते भएका छन्। उनको खुट्टा तथा शरीरका विभिन्न भागमा आगोले पोलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार आइतबार साँझ करिब ७ः२० बजे सुरु भएको आगलागी आज बिहान करिब ६ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको हो। प्रज्वलनशील पदार्थमा आगलागी भएकाले नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीले जनाएको छ।
प्लान्टमा कालोपत्रे गर्न प्रयोग गरिने लाइट डिजेल आयल भण्डारण गरिएको स्थानमा आगलागी हुँदा मौज्दात रहेको साढे नौ हजार लिटर डिजेल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट अलकत्रा लोड गरिएको को १ ख १८०० नम्बरको ट्रकमा क्षति पुगेको छ। ट्रकमा मात्रै करिब दुई लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक अधिकारीले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कात्तिक ९, २०८३ सोमबार १८:०६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।