पाल्पामा अटो दुर्घटना : चालकसहित ६ जना घाइते, एकको अवस्था गम्भीर
पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ बल्गास्थित भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन्।
बल्गाबाट कटौजतर्फ आउँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो। अटोमा चालकसहित कुल ८ जना सवार रहेकोमा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ।
घाइतेमध्ये सोही गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। एक बालकसहित पाँच जना घाइतेको अवस्था सामान्य छ।
कात्तिक ९, २०८३ सोमबार १७:५३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।