एनपिएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री शाहले गरे उद्घाटन
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेका छन्। सोमबार काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेर शाहले अम्पाएरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।
उनी मैदान प्रवेश गर्दा उपस्थित क्रिकेट समर्थकहरूले हुटिङ गर्दै स्वागत गरेका थिए। यसअघिका संस्करणका उद्घाटन समारोहहरूमा पनि प्रधानमन्त्रीको उपस्थिति रहँदै आएको थियो। उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसँगै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धामा उत्रिएका छन्। खेलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन्।
टस हारेको दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरिरहेको छ। गत संस्करणको फाइनलमा बेहोरेको पराजयको बदला लिने रणनीतिका साथ सुदूरपश्चिम मैदानमा उत्रिएको छ भने लुम्बिनी गत वर्षकै सफलता दोहोर्याएर सुखद सुरुआत गर्ने दाउमा रहेको छ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुरु भएको प्रतियोगिता आगामी ५ मंसिरसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको च्याम्पियन बन्ने टोलीले नगद एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै उपविजेताले ८० लाख, तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख र चौथो (सान्त्वना) स्थान प्राप्त गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
कात्तिक ९, २०८३ सोमबार १७:२८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।