दशैं बक्स अफिस : ‘आ बाट आमा २’ को अग्रता, ‘१२ गाउँ २’ सबैभन्दा कमजोर
काठमाडौं : दशैंमा प्रदर्शनमा आएका तीन नेपाली फिल्मका सिक्वेलमध्ये बक्स अफिसमा ‘आ बाट आमा २’ ले अग्रता लिएको छ भने ‘१२ गाउँ २’ सबैभन्दा कमजोर देखिएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो बक्स अफिस प्रतिवेदनअनुसार कात्तिक ८ गतेसम्मको अवधिमा ‘आ बाट आमा २’ ले कुल ४ करोड ११ लाख ४६ हजार ४८४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यो कमाइ १ लाख ३१ हजार ४९१ वटा टिकट बिक्रीबाट भएको हो।
यसैगरी, हास्य-व्यङ्ग्य शैलीको फिल्म ‘छ माया छपक्कै २’ ले २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कलेक्सन गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ। यस फिल्मका लागि ८२ हजार ७५९ वटा टिकट बिक्री भएका छन्।
एक्सन जनराको बहुप्रतीक्षित मानिएको फिल्म ‘१२ गाउँ २’ भने बक्स अफिसमा निकै सुस्त देखिएको छ। यसले हालसम्म ५७ हजार ९८३ वटा टिकट बिक्री गर्दै १ करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ मात्र ग्रस कलेक्सन गर्न सकेको छ।
बोर्डले साप्ताहिक रूपमा बक्स अफिस प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। प्रदर्शनको दोस्रो साता चलिरहँदा नयाँ प्रतीक्षित फिल्म ‘कबड्डी ५’ हलमा आएपछि यी तीनवटै फिल्मको शो संख्यामा उल्लेख्य कटौती भएको छ। स्क्रिन घटेसँगै अब यिनको दैनिक कमाइको गति पनि सुस्त हुने देखिएको छ।
शुरुआती १० दिनको व्यापारिक ग्राफ हेर्दा तीनवटै फिल्मले आफ्ना अघिल्ला शृङ्खला (पहिलो भाग) को लाइफटाइम ग्रस कलेक्सनको कीर्तिमान भेट्टाउने सम्भावना निकै न्यून देखिएको छ।
यसअघि ‘आ बाट आमा’ ले १३ करोड २० लाख रुपैयाँ, ‘छ माया छपक्कै’ ले ९ करोड ९२ लाख रुपैयाँ र ‘१२ गाउँ’ ले १९ करोड ९२ लाख रुपैयाँको ग्रस कलेक्सन गरेका थिए। पहिलो भागको तुलनामा तीनवटै सिक्वेलको व्यापारिक रफ्तार निकै सुस्त छ।
चलचित्र व्यापारको नियमअनुसार कुल ग्रस कलेक्सनबाट कर, हल सञ्चालक र वितरकको कमिसन कटाएपछि बाँकी रहने करिब ३३ देखि ३५ प्रतिशत रकम मात्र निर्माताको हातमा पुग्ने गर्छ।
कात्तिक ९, २०८३ सोमबार १४:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।