राहुल गान्धीको सवारीमा रहेको गाडी एम्बुलेन्ससँग ठोक्किँदा कार्यकर्ता र सुरक्षाकर्मी घाइते, उनी भने सुरक्षित

राहुल गान्धीको सवारीमा रहेको गाडी एम्बुलेन्ससँग ठोक्किँदा कार्यकर्ता र सुरक्षाकर्मी घाइते, उनी भने सुरक्षित
तस्विर स्रोत : एनडिटिभी

एजेन्सी : भारतीय कांग्रेस पार्टीका नेता तथा लोकसभामा विपक्षी दलका सांसद राहुल गान्धीको कन्भोय (सवारीको लस्कर) मा रहेका गाडीहरू उत्तर प्रदेशको पूर्वाञ्चल एक्सप्रेसवेमा एम्बुलेन्ससँग ठोक्किँदा धेरै जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राहुल गान्धी सन् २०१८ को मानहानिसम्बन्धी मुद्दाको सुनुवाइका लागि सुल्तानपुर अदालत जाँदै गर्दा उक्त दुर्घटना भएको हो। उनी उक्त मुद्दामा उपस्थित हुन विशेष सांसद–विधायक (एमपी–एमएलए) अदालत जाँदै थिए।

एनडीटीभीका अनुसार, सोमबार दुर्घटनामा परेका पाँचवटा सवारीसाधन राहुल गान्धीको सवारीको पछाडिको भागमा रहेका थिए। लखनउबाट करिब १०० किलोमिटर टाढा पर्ने हासियपुर क्षेत्रमा यो दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा राहुल गान्धी सवार गाडी भने घटनास्थलभन्दा निकै अगाडि रहेकोले उनी सुरक्षित रहेको प्रहरीले जनाएको छ।

प्रहरीले जानकारी दिए अनुसार घाइते हुनेहरूमा पार्टीका कार्यकर्ताहरू र सुरक्षाकर्मीहरू रहेका छन्।

दुर्घटनास्थलको सिसिटिभी फुटेजमा एम्बुलेन्स द्रुत गतिको दायाँ लेनमा रहेको देखिन्छ भने अन्य धेरै गाडीहरू अन्य लेनहरूमा जम्मा भएका छन्। फुटेजमा दुर्घटनापछि स्कर्पियो एसयूभीको अगाडिको भाग अर्थात् हुड ठोक्किएर भित्रतर्फ दबिएको देखिएको छ। उक्त दृश्यअनुसार स्कर्पियो एसयूभी एम्बुलेन्ससँग ठोक्किएपछि त्यसको अगाडि रोकिएको जस्तो देखिन्छ।

यद्यपि, दुर्घटनाको वास्तविक कारण, घाइतेको अवस्था र सवारीसाधनमा भएको क्षतिबारे थप विवरण आउन बाँकी छ।

कात्तिक ९, २०८३ सोमबार १२:०९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।