ब्राजिलमा लूला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित, दक्षिणपन्थी धारलाई धक्का

ब्राजिलमा लूला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित, दक्षिणपन्थी धारलाई धक्का

एजेन्सी :  ब्राजिलको राष्ट्रपति चुनावमा वामपन्थी नेता लुइज इनासियो लूला दा सिल्भाले पुनः जित हासिल गरेका छन्। यस जितसँगै ८० वर्षीय लूला चौथो पटक ब्राजिलको राष्ट्रपति बन्ने भएका छन्।

आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा लूलाले ५१.७६ प्रतिशत मत प्राप्त गरी आफ्ना कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई पराजित गरे।

जेलमा रहेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा ४५ वर्षीय सिनेटर फ्लाभियोले ४८.२४ प्रतिशत मत पाएका छन्। प्रारम्भिक मतसर्वेक्षणहरूमा फ्लाभियो अगाडि देखिए पनि अन्तिम नतिजा लूलाको पक्षमा आएको हो।

पहिलो चरणमा केही कमजोर देखिएका लूलाले त्यसपछि गरिब तथा विद्यार्थीहरूका लागि ऋण मिनाहा, सार्वजनिक यातायातमा सहुलियत र आर्थिक सहयोगजस्ता लोकप्रिय कल्याणकारी योजनाहरू घोषणा गरेका थिए।

यसअघि सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल र चार वर्षअघि तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका लूलाको नयाँ कार्यकाल आगामी जनवरी २०२७ देखि सुरु हुनेछ।

लूलाको यस जितलाई ल्याटिन अमेरिकी क्षेत्रमा प्रभाव विस्तार गर्न खोजिरहेको अमेरिकी नीति र त्यहाँको दक्षिणपन्थी राजनीतिक लहरका लागि ठूलो धक्काका रूपमा हेरिएको छ।

फ्लाभियो बोल्सोनारोले अमेरिकासँग निकट सम्बन्ध बनाउने प्रतिबद्धता जनाएका थिए भने लूलाले ब्राजिल कसैको ‘पिछलग्गु’ नबन्ने स्पष्ट पारेका छन्।

लूलाको जितलाई पर्यावरण संरक्षणकर्मीहरूले भने स्वागत गरेका छन्। यसअघि बोल्सोनारो परिवारको शासनकालमा अमेजनको जंगल विनाश तीव्र भएको भन्दै वातावरणविद्हरू चिन्तित थिए।

विपक्षीहरूको बाहुल्य रहेको संसद् र जटिल आन्तरिक तथा बाह्य परिस्थितिका बीच लूलाका लागि आगामी कार्यकाल निकै चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ।

कात्तिक ९, २०८३ सोमबार ०८:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।