सर्बियाको चुनावमा विद्यार्थी आन्दोलनबाट उदाएको दल विजयी, दशकौंदेखि शक्तिमा रहेका नेता पराजित

सर्बियाको चुनावमा विद्यार्थी आन्दोलनबाट उदाएको दल विजयी, दशकौंदेखि शक्तिमा रहेका नेता पराजित

एजेन्सी : सर्बियामा लामो समयदेखि सत्ताको बागडोर सम्हाल्दै आएका दक्षिणपन्थी नेता अलेक्जेन्डर भुचिचले मध्यावधि संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलनकारी दलसामु ऐतिहासिक पराजय स्वीकार गरेका छन्।

आइतबार सम्पन्न निर्वाचनको मतगणना नसकिँदै भुचिचले पत्रकार सम्मेलन गरेर आफ्नो हार स्वीकार गरेका हुन्।

‘अन्तिम नतिजा आउन बाँकी नै छ, तर यो स्पष्ट भइसकेको छ कि हामीले यो चुनाव हारेका छौँ’, राजधानी बेलग्रेडस्थित आफ्नो पार्टी कार्यालयमा उनले भने।

सत्ताधारी ‘सर्बियन प्रोग्रेसिभ पार्टी’ (एसएनएस)ले पराजय स्वीकार गरेलगत्तै राजधानी बेलग्रेडका सडकहरूमा हजारौं नागरिक, युवा तथा विद्यार्थीहरू राष्ट्रिय झन्डा, बाजागाजा र आतिसबाजीसहित विजयोत्सव मनाउन ओर्लिएका छन्।

विजयपछि विद्यार्थीहरूको दल ‘स्टुडेन्ट लिस्ट’ का प्रमुख उम्मेदवार इलिया स्रदानोभिचले बीबीसीसँग खुसी साट्दै भने, ‘अब सर्बिया एक स्वतन्त्र मुलुक बन्नेछ। यो आन्दोलनले देशलाई तानाशाहीबाट मुक्त गरेको छ।’

१६ जनाको ज्यान जाने गरी भएको त्यो दुर्घटना, जसले सरकार ढाल्यो
दुई वर्षअघि सर्बियाको नोभी साद सहरस्थित एक रेलवे स्टेसनको छाना (क्यानोपी) भत्किँदा १६ जना सर्वसाधारणको ज्यान गएको थियो।

उक्त घटनालाई सरकारी भ्रष्टाचार र चरम लापरबाहीको नमुना मान्दै देशभरका विद्यार्थीहरू सडक आन्दोलनमा होमिएका थिए।

लगातार दुई वर्षसम्म चलेको भ्रष्टाचारविरोधी जनप्रदर्शन र दबाबपछि नेता भुचिच मध्यावधि निर्वाचन घोषणा गर्न बाध्य भएका थिए।

दुई कार्यकाल राष्ट्रपति भइसकेका भुचिच कानुनी रूपमा तेस्रो पटक राष्ट्रपति बन्न नमिल्ने भएपछि यसपटक आफ्नो दललाई जिताएर पुनः प्रधानमन्त्रीका रूपमा सत्तामा फर्किने योजनामा थिए।

तर, युवा पुस्ताको आक्रोशले उनको राजनीतिक योजनामा पूर्णविराम लगाइदिएको छ।

राजनीतिमा नयाँ अनुहार : डाक्टरदेखि खेलाडीसम्म संसद्मा
राजनीतिक पृष्ठभूमि नभएका विद्यार्थीहरूको दल ‘स्टुडेन्ट लिस्ट’ले समाजका विभिन्न क्षेत्रका गैर-राजनीतिक व्यक्तिहरू डाक्टर, प्राध्यापक, कलाकार र खेलाडीहरूलाई २५० सदस्यीय संसद्का लागि उम्मेदवार बनाएको थियो।

प्रदर्शनकारीमाथि दमन गर्ने अधिकारीहरूलाई पदमुक्त गर्ने, सरकारी संस्थानहरूमा हुने राजनीतिक नियुक्ति खारेज गर्ने, भ्रष्टाचार रोक्ने र सरकारी सञ्चारमाध्यमलाई राजनीतिक नियन्त्रणबाट मुक्त गर्ने विद्यार्थीहरूको चुनावी एजेन्डालाई सर्बियाली जनताले व्यापक समर्थन गरेका हुन्।

यसपटकको चुनावमा नागरिकहरूले निकै उत्साहका साथ ऐतिहासिक मतदान गरेका थिए।

देशभित्र मात्र नभई विदेशमा रहेका सर्बियाली नागरिकहरूले समेत अमेरिका, जर्मनी र फ्रान्सलगायतका देशमा झरीको परवाह नगरी घण्टौ लाइन लागेर मतदान गरेका थिए। अन्ततः त्यही अत्यधिक मतदान नै भुचिचको सत्ता ढाल्न र विद्यार्थी आन्दोलनलाई सत्तामा पुर्याउन निर्णायक बन्यो।

कात्तिक ९, २०८३ सोमबार १०:०८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।