ट्रम्पका 'मूर्खतापूर्ण कदम' रोक्न मध्यावधि चुनावलाई 'सर्किट ब्रेकर' बनाउन ओबामाको आह्वान
एजेन्सी : मध्यावधि चुनाव आउन १० दिन बाँकी रहँदा पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको राजनीतिक तथा नीतिगत आलोचना गरेका छन्। डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूको प्रचारप्रसारका क्रममा ओबामाले ट्रम्प प्रशासनलाई भ्रष्ट, अयोग्य र गैर-जिम्मेवारको संज्ञा दिए।
ओहायोको क्लिभल्यान्ड र मिशिगनको डेट्रोइटमा आयोजित विशाल चुनावी सभाहरूलाई सम्बोधन गर्दै उनले ट्रम्पको इरान रणनीति, वैदेशिक नीति, सैन्य नेतृत्वको प्राथमिकता र ह्वाइट हाउसको भड्किलो सजावट शैलीमाथि व्यङ्ग्यात्मक आलोचना गरे।
ट्रम्प प्रशासनले इरानविरुद्धको युद्धमा विजय हासिल गरेको दाबी गरिरहेका बेला ओबामाले उक्त दाबीको पनि खिल्ली उडाए। उनले इरानी धम्कीका कारण होर्मुज स्ट्रेटमा तेल निर्यातकर्ताहरू त्रसित बनेको र यस युद्धले इरानलाई थप आर्थिक प्रभाव पार्ने मौका दिएको दाबी गरे। ओबामाले ट्रम्पको नीतिका कारण इरानले अहिले विश्वभर तेल ढुवानी हुने हर्मुज क्षेत्रमा भिटो शक्ति सरहको नियन्त्रण पाएको र यसले अन्तर्राष्ट्रिय बजारमा आपूर्तिको अनिश्चितता बढाएको तर्क गरे।
इरान नीतिको आलोचना गर्दै ओबामाले भने, "विश्वभर तेल आपूर्ति हुने होर्मुज स्ट्रेटमा अहिले इरानसँग 'भिटो पावर' (विशेषाधिकार) जस्तै नियन्त्रण कायम भएको छ।"
सम्बोधनका क्रममा पूर्वराष्ट्रपति ओबामाले उनले ट्रम्पको इरानसम्बन्धी रणनीतिको आलोचना गर्नुका साथै ह्वाइट हाउसको पुनर्निर्माणमा अपनाइएको सुनौलो र भड्किलो सजावटको शैलीमाथि पनि व्यङ्ग्य गरे। ट्रम्पले ह्वाइट हाउसलाई इराकका पूर्वशासक सद्दाम हुसेनले 'चिजकेक फ्याक्ट्री' नामको रेस्टुरेन्ट खोलेको जस्तो भद्दा र खराब स्वादको उदाहरण बनाएको उनले टिप्पणी गरे।
ह्वाइट हाउसमा गरिएका नयाँ सजावट र पुनरुत्थानका शैलीलाई भद्दा भन्दै ओबामाले व्यङ्ग्यपूर्ण शैलीमा भने, "उहाँले ह्वाइट हाउसलाई यस्तो बनाइदिनुभएको छ कि, सद्दाम हुसेनले कुनै 'चिजकेक फ्याक्ट्री' खोलेका हुन्।"
यसका साथै पूर्वराष्ट्रपतिले ट्रम्प प्रशासनमाथि गैर-जिम्मेवार र अनावश्यक विषयहरूमा बढी ध्यान केन्द्रित गरेको आरोप समेत बगाए। राष्ट्रिय सुरक्षा र सेनाको वास्तविक क्षमता अभिवृद्धि गर्नुको साटो रक्षामन्त्री हेगसेथ सैनिकहरूको शारीरिक बनावट र पुरुष हर्मोन टेस्टोस्टेरोनको स्तरजस्ता कम महत्त्वका विषयमा बढी केन्द्रित रहेको भन्दै ओबामाले टिप्पणी गरे।
मिसिगनमा सिनेट उम्मेदवार अब्दुल अल-सयदको पक्षमा चुनावी माहोल बनाउँदै ओबामाले राष्ट्रपति पदको दुरुपयोग गरी ट्रम्प र उनको परिवारले व्यक्तिगत आर्थिक लाभ उठाएको गम्भीर आरोप लगाए। अमेरिकी करदाताको रकमबाट व्यक्तिगत फाइदा लिन र राजनीतिक पहुँचका आधारमा सुविधा बेच्न ट्रम्प प्रशासन निकै सिपालु देखिएको भन्दै उनले आलोचना गरे।
उनले भने, "हामीले तपाईँहरूकै करको पैसामा यसरी सिधै ठगी गर्न सिपालु भएको राष्ट्रपति कहिल्यै देखेका थिएनौँ। यसरी व्यक्तिगत फाइदा वा कृपा बिक्री गर्न तल्लीन राष्ट्रपति पनि कहिल्यै देखिएको थिएन... अहिले त (रिपब्लिकन) पार्टी नै भ्रष्ट सरकार, अयोग्य सरकार वा सरकारै नभएको अवस्थाको पक्षमा उभिएजस्तो देखिन्छ।"
ओबामाले नोभेम्बर ३ को निर्वाचनलाई ट्रम्पका मूर्खतापूर्ण कदमहरूलाई रोक्ने र सरकारलाई जवाफदेही बनाउने एक महत्वपूर्ण 'सर्किट ब्रेकर' का रूपमा प्रयोग गर्न मतदाताहरूसँग आग्रह गरे।
सम्बोधनका क्रममा ओबामाले भने, "हामीले त्यो सर्किट ब्रेकर थिच्नु परेको छ, ताकि यो सरकारमा केही जवाफदेहिता ल्याउन सकियोस्।"
हालै सार्वजनिक रोयटर्स-इप्सोसको सर्वेक्षणले पनि ६३ प्रतिशत अमेरिकीहरूले ट्रम्प परिवारले क्रिप्टोकरेन्सीबाट अनुचित लाभ उठाएको मानेको र ६९ प्रतिशत उत्तरदाताले ट्रम्पका नीतिगत निर्णयहरू उनको निजी व्यापारबाट प्रभावित हुने गरेको विश्वास व्यक्त गरेको देखाएको छ।
मिसिगनमा डेमोक्रेटिक उम्मेदवार अल-सयद र रिपब्लिकन उम्मेदवार माइक रोजर्सबीच कडा प्रतिस्पर्धा भइरहेको छ। कङ्ग्रेसका दुवै सदनमा शक्ति सन्तुलन फेरबदल गर्न यो निर्वाचन निर्णायक मानिएकाले डेमोक्रेटिक पार्टीले आफ्ना सर्वाधिक लोकप्रिय नेता ओबामालाई चुनावी मैदानमा उतारेको हो। ओबामाको यस कडा आलोचनाबारे ह्वाइट हाउसले भने हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।
कात्तिक ८, २०८३ आइतबार १४:५८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।