कुलमान घिसिङको समृद्धिको 'रोडम्याप' : नेपालमै रोजगारी, निःशुल्क बिजुली र सेयर

कुलमान घिसिङको समृद्धिको 'रोडम्याप' : नेपालमै रोजगारी, निःशुल्क बिजुली र सेयर

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको मुख्य समस्या वैदेशिक रोजगारीको बाध्यता र बेरोजगारी रहेको औँल्याउँदै त्यसको दीर्घकालीन समाधानका लागि आफ्नो पार्टीसँग स्पष्ट ‘समृद्धिको रोडम्याप’ रहेको बताएका छन्।

रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले 'हरित क्रान्ति' मार्फत देशलाई आर्थिक, सामाजिक र वातावरणीय रूपमा आत्मनिर्भर बनाउने घोषणा गरे। 

"हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौँ भनेर हामी लागेका छौँ, यसले गर्दा वातावरण मात्र होइन आर्थिक, सामाजिक हिसाबले पनि नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ," उनले भने।

विभिन्न राजनीतिक 'वाद' र सिद्धान्तका कुरा गरेर देश अघि नबढ्ने बताउँदै घिसिङले उज्यालो नेपालको सैद्धान्तिक र वैचारिक बाटो भनेको आर्थिक रूपान्तरणको मध्यमार्गी बाटो भएको प्रष्ट पारे। "धेरै वादका कुरा गरियो तर देशले उन्नति गरेन, हामी कुनै पनि अतिवादमा जाँदैनौँ, कुनै पनि अतिवाद हाम्रो लागि मान्य छैन, हामी सबैलाई समावेश गरेर देशको समुन्नति गर्नुपर्छ भनेर लागेका छौँ," घिसिङले भने।

देशको विकास गरेर तल्लो वर्गका नागरिकलाई समानताको हिसाबमा ल्याउने उज्यालो नेपालको परिकल्पना रहेको उनले बताए। देशको विकास भनेको दुई-चार जना मानिसहरूलाई मात्र धनी बनाउनु नभई समाजका तल्लो वर्गका नागरिकलाई समानताको स्तरमा ल्याउनु रहेको उनको भनाइ थियो।

उनले सुशासन, समृद्धि र सामाजिक न्यायको तीनखम्बे नीतिलाई आधार बनाएर पार्टी अघि बढेको बताए। 

आफ्नो पार्टीको सरकार बनेपछि ५ वर्षभित्र शिक्षा र स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क गर्ने घिसिङले प्रतिबद्धता जनाए। साथै, प्रत्येक परिवारलाई २०० युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराउने योजनासमेत उनले अघि सारे। 

नेपाली नागरिकलाई आर्थिक रूपमा सशक्त बनाउन प्रत्येक नागरिकलाई १ हजार कित्ता र विदेशमा पसिना बगाएर रेमिट्यान्स पठाउने नेपालीहरूलाई कम्तीमा २ हजार कित्ता जलविद्युतको सेयर निःशुल्क दिइने घिसिङले घोषणा गरे। यो सेयरले विदेशमा रहेका नेपालीहरूका लागि जीवनभर पेन्सनको रूपमा काम गर्ने उनले स्पष्ट पारे। 

"नेपालमा बस्नेलाई एक हजार कम्तीमा, विदेशमा काम गरेर रेमिट्यान्स पठाउनेलाई कम्तीमा २ हजार कित्ता शेयर दिन सक्छौँ, जसले उनीहरूलाई पेन्सनको रूपमा काम गर्छ," उनले भने।

ऊर्जा क्षेत्रको विकासबारे बोल्दै घिसिङले आगामी २० वर्षमा ४० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताए। जसमध्ये ३० हजार मेगावाट विद्युत भारत र बंगलादेशमा बिक्री गरेर नेपालले वार्षिक २० देखि ३० खर्ब रुपैयाँसम्म आम्दानी गर्न सक्ने उनको दाबी छ।

देशभित्र ग्यास र इन्धनको सट्टा विद्युतको प्रयोग बढाएर बाहिरिने ठूलो धनराशि जोगाउन सकिने उनले बताए। नेपालमा ग्रिन हाइड्रोजन उत्पादन गरी सवारी साधन, जहाज चलाउन र युरिया मल उत्पादन गर्न सकिने उनको योजना छ। कृषि, पर्यटन र ऊर्जाको समुचित प्रयोग गर्दै नेपाली युवाहरूलाई डिजिटल अर्थतन्त्रमा सहभागी गराई स्वदेशमै रोजगारी सिर्जना गर्ने उज्यालो नेपाल पार्टीको मुख्य उद्देश्य रहेको घिसिङले बताए। 

"नेपाली युवालाई डिजिटल इकोनोमीमा संलग्न गराएर, नेपालमा युवालाई रोजगारी दिने र देशलाई समृद्ध बनाउने उद्देश्यका साथ हामी उज्यालो नेपाल पार्टी स्थापना गरेर आएका छौँ," घिसिङले भने।

कात्तिक ८, २०८३ आइतबार ११:०९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।