पेरिसमा सम्भावित हिंसा रोक्न प्रहरीद्वारा हतियार र ग्याँस मास्क जफत, फ्रान्सभर प्रदर्शन तीव्र
एजेन्सी : फ्रान्सको राजधानी पेरिसमा जारी प्रदर्शन थप हिंसात्मक बन्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीले व्यापक सुरक्षा जाँच र कारबाही तीव्र पारेको छ। फ्रान्स प्रहरीले राजधानीका विभिन्न स्थानबाट चक्कु, ग्याँस मास्क, हेल्मेट, एङ्गल ग्राइन्डर, लाठी तथा सुरक्षात्मक चस्मा (गग्ल्स) जस्ता थुप्रै प्रतिबन्धित सामग्रीहरू जफत गरेको छ।
पेरिस प्रहरी प्रेफेक्चरले सामाजिक सञ्जाल 'एक्स' मा जानकारी दिँदै खराब नियतका साथ शहर भित्रिन सक्ने सम्भावित व्यक्तिहरूलाई रोक्न 'व्यापक जाँच अभियान' सञ्चालन गरिएको र यस क्रममा केही व्यक्तिहरूलाई पक्राउ समेत गरिएको जनाएको छ।
फ्रान्समा केही सातादेखि जारी प्रदर्शन सुरुमा शिक्षा क्षेत्रका समस्यालाई लिएर केन्द्रित थियो। विद्यार्थीहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीको अभाव, अत्यधिक विद्यार्थी सङ्ख्या भएका कक्षाकोठा र जीर्ण विद्यालय भवनको समस्या समाधान गर्न सरकारसँग माग राख्दै आन्दोलन सुरु गरेका थिए। माध्यमिक तहको विद्यार्थी युनियन 'युनियन सिन्डिकेल लिसिएन्ने' को नेतृत्वमा सुरु भएको यो आन्दोलन अहिले बढ्दो जीवनयापन खर्च (महँगी) र सार्वजनिक सेवामा पहुँचको मुद्दामा केन्द्रित भएको छ।
सन् २०१८ मा महँगीविरुद्ध लामो आन्दोलन गरेको चर्चित 'हेलो भेस्ट' समूह र विभिन्न मजदुर ट्रेड युनियनहरू पनि यस प्रदर्शनमा सहभागी भएका छन्।
उता, सरकारमाथि बढ्दो सार्वजनिक ऋण र लगानीकर्ताको दबाबका कारण आर्थिक चुनौती थपिएको छ। सार्वजनिक सेवा वा सामाजिक सुरक्षासम्बन्धी खर्च कटौती गर्दा असन्तुष्टि झन् बढ्न सक्ने चिन्ता पनि सरकारलाई रहेको बताइएको छ।
अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि केही स्थानमा नकाबधारी समूह र तोडफोडमा संलग्न व्यक्तिहरूबाट हिंसात्मक गतिविधि भएको छ। हालसम्म देशभर करिब तीन हजार पसल तथा व्यवसायहरूमा तोडफोड र लुटपाट भइसकेको अनुमान छ।
सरकारको कार्यशैलीलाई लिएर सर्वसाधारण आक्रोशित बनेका छन्। गृहमन्त्री लरेन्ट नुनेजले राजीनामा दिने प्रस्ताव गरे पनि राष्ट्रपति इम्यानुएल म्याक्रोनले त्यसलाई अस्वीकार गर्दै तोडफोड र हिंसामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन्।
कात्तिक ७, २०८३ शनिबार १७:३९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।