‘१२ गाउँ-२’ : बिराजको अर्को ‘डिजास्टर’
नेपाली फिल्ममा अभिनय गर्दागर्दै भारतीय भोजपुरी फिल्ममा जमेका बिराज भट्ट ‘१२गाउँ’ मार्फत नेपाली फिल्ममा फर्किएनन् मात्र उनीसँगै फिल्म चलाउन प्रतिस्पर्धीलाई ट्रोल गर्ने खराब अभ्यास पनि भित्रियो।
‘१२ गाउँ’ को सिक्वेलका रूपमा आएको ‘१२ गाउँ-२’ को प्रचारमा उनले त्यो खराब अभ्यास चट्ट छाडे। यो नै यो फिल्मको सबैभन्दा सकारात्मक पक्ष हो। कमजोरीको टन्न नमुनाहरू भए पनि फिल्म आर्थिक रूपमा बक्स अफिसमा सफल भयो। त्यही हाइपलाई क्यास गर्ने प्रयास गर्दै उनले '१२ गाउँ-२' त बनाए तर औँल्याइएको कमजोरी सुधार्ने प्रयास भने गरेनन्।
यसको अर्को बलियो पक्ष समीरमा नेपाली फिल्मको बलियो हिरो हुनसक्ने मेटेरियल जिवितै रहनु हो। एक्सनमा आधारित बलियो फिल्म दिनसक्ने सम्भावना कायमै राखेका छन् उनले। तर यसका लागि उनले बाबुको मोहबाट बाहिरिएर ज्ञान र अनुभव भएको निर्देशकसँग काम गर्नु उनी र नेपाली फिल्म दुवैको हितमा देखिन्छ।
फिल्ममा आफ्नो छोरा समीर भट्टलाई मुख्य आकर्षणका रूपमा अगाडि सारेर निर्माण गरिएको फिल्ममा निर्माण, निर्देशन र अभिनयको मुख्य जिम्मेवारीमा भट्ट परिवारै छन्। अघिल्लो भागको तुलनामा एक्सन दृश्य र केही प्राविधिक पक्षमा सुधार देखिएको छ। समीरको अभिनयमा कमेडी फ्लेवर थपिएको छ। तर कमजोर पटकथा र फितलो निर्देशनका कारण फिल्मले दर्शकको अपेक्षा सम्बोधन गर्न सकेन।
अघिल्लो भाग जहाँ सकिएको थियो, ‘१२ गाउँ-२’ को कथा त्यही विन्दुबाट अगाडि बढ्छ। कानुनी शासन नभएको, अपराधी र आततायीहरूको साम्राज्य चलेको एउटा गाउँ र त्यही अपराधको साम्राज्य भत्काउँदै अन्यायमा परेकाहरूको बदला लिने अभियान नै फिल्मको मुख्य कथा हो। अघिल्लो भागसँग कथा जोड्न फ्ल्यासब्याकको प्रयोग गरिएकाले पहिलो भाग नहेरेका दर्शकले पनि कथा सहजै बुझ्न सक्छन्।
कुनै पनि द्वन्द्वप्रधान सिनेमामा नायकको मारधाड पछाडि बलियो भावनात्मक कारण हुनुपर्छ, जसले दर्शकलाई पर्दाको कथासँग जोड्छ। ‘१२ गाउँ-२’ मा एक्सन सिनहरूमा राम्रो मिहिनेत गरिएको पनि छ र ती हेर्दा रोमाञ्चक पनि लाग्छन्, तर कथाको भावनात्मक धरातल कमजोर हुँदा दर्शक ती दृश्यसँग पूर्ण रूपमा एकाकार हुन सकेका छैनन्।
संवादमा जति डरलाग्दो गाउँ अनि डरलाग्दा पात्रको परिकल्पना गरिएको छ, पर्दामा दृश्य भाषाका माध्यमबाट त्यसको गम्भीरता प्रतिबिम्बित हुन सकेको छैन। डायलगहरु वजनदार छन्। तर अभिनय फिक्का। बाघ जसरी गर्जिदैमा बिरालो बाघ बन्न सक्दैन।
फिल्मको स्क्रिन-टाइम मुख्य गरी बाबु-छोरा अर्थात् बिराज भट्ट र समीर भट्टका बिचमा आधा-आधा बाँडिएको छ। तर, दुवै पात्रलाई समानान्तर र सन्तुलित रूपमा अगाडि बढाउन कथा-संरचना परिपक्व देखिँदैन। दुई अलग अलग फिल्मलाई अन्तमा लगेर जोडेर एकै बनाए जस्तै देखिन्छ।
समीर भट्टमा एक्सन र स्क्रिन प्रेजेन्सको राम्रो सम्भावना देखिए पनि ९० को दशकको परम्परागत प्रस्तुति शैलीले उनको अभिनय क्षमतालाई सीमित गराइदिएको छ।
एउटा स्तरीय एक्सन फिल्मको स्थापित मान्यता नै "भिलेन जति शक्तिशाली हुन्छ, नायकको जित उति नै रोमाञ्चक हुन्छ" भन्ने हो। फिल्ममा खलनायकका रूपमा अनुपविक्रम शाहीको लुक्स र पर्सनालिटी प्रभावशाली भए पनि उनको पात्र लेखाइ र भूमिका यति छोटो तथा फितलो छ कि उनले आफ्नो प्रभाव जमाउनै पाएका छैनन्।
सुरुवातमा भिलेनको जग बसाल्न धेरै समय खर्चिए पनि क्लाइमेक्स भने निकै हतारमा सिध्याइदिएको छ। नायक र खलनायक बीचको शक्ति सन्तुलन नमिल्दा अन्त्यमा नायकले पाउने विजयको प्रभाव फिक्का बन्न पुगेको छ।
अन्य कलाकारहरू सुधीर श्रेष्ठ र कृषु शाहीको अभिनय सामान्य छ। तुलनात्मक रूपमा वर्षा इटानीको अभिनय परिपक्व र स्वाभाविक देखिन्छ। सुनिल पोखरेल,खुसी कार्की, कमल देवकोटा लगायतका कलाकार पनि फिल्ममा छन् भन्ने आभास हुन्न।
सामान्यतया द्वन्द्वप्रधान फिल्ममा कथाको गति तीव्र र कसिलो हुनुपर्छ, जसले दर्शकलाई एकछिन पनि सुस्त महसुस हुन दिँदैन। तर, तीन घण्टाभन्दा लामो यो फिल्मको सुस्त पटकथा नै यसको मुख्य कमजोरी बनेको छ। पहिलो हाफ अलि सुस्त रहेको फिल्ममा दोस्रो हाफमा गति बढाउन खोजिए पनि संवादको अतिशय प्रयोगले सुधारिएको पक्ष पनि प्रभावहीन देखिन्छ।
निर्देशनका हिसाबले बिराज भट्टले एक्सनमा मिहिनेत गरे पनि समग्र फिल्मलाई एउटै आधुनिक लयमा बाँध्न सकेका छैनन्। उनी अझै पनि पुराना मसला फिल्मको परम्परागत ढाँचामै बढी केन्द्रित देखिन्छन्।
प्राविधिक रूपमा पनि केही त्रुटीहरू प्रस्टै देखिन्छन्। ट्रली सट लिँदा पर्दामा ट्रली नै देखिनु, पानीभित्रको अस्वाभाविक सिन र कलर ग्रेडिङ कमजोर हुनु यसका उदाहरण हुन्। आधुनिक एक्सन सिनेमामा ब्याकग्राउन्ड स्कोरको ठूलो भूमिका हुन्छ, तर यसमा ब्याकग्राउन्ड म्युजिकले दृश्यको मुडलाई उचाल्न सकेको छैन भने कथाको प्रवाहसँग मेल नखाने गीतहरूले फिल्मको गतिलाई झनै सुस्त बनाएका छन्।
अन्त्यमा,
‘१२ गाउँ-२’ ले अघिल्लो भागको तुलनामा एक्सन दृश्य, केही पन्चिङ संवाद र प्राविधिक पक्षमा सुधारको प्रयास त गरेको छ, तर द्वन्द्वप्रधान सिनेमाका आधारभूत तत्वहरू-सशक्त पटकथा, सन्तुलित पात्र निर्माण, प्राविधिक सन्तुलन र तीव्र गतिमा भने फिल्म अझै परिपक्व हुन सकेन।
'१२गाउँ'को फ्यानबेस र एक्सन प्रेमी दर्शकका लागि यो फिल्म मनोरञ्जक हुन सक्छ, तर विषयवस्तु र निर्देशकीय दृष्टिकोणबाट हेर्दा यो विराजको अर्को कमजोर फिल्म बन्न पुगेको छ।
असोज ३१, २०८३ शनिबार १६:०२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।