पर्यटकीय याम नसकिँदै पोखरा-जोमसोम नियमित उडान स्थगित
मुस्ताङ : पर्यटकीय याम नसकिँदै पोखरा-जोमसोम हवाई रुटको नियमित उडान स्थगित भएको छ।
मुस्ताङ भ्रमणको मुख्य सिजन चलिरहेकै बेला यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले नियमित सेवा बन्द गरेका हुन्।
यस रुटमा १८ सिटे साना जहाजमार्फत उडान गर्दै आएका तारा एयरलाइन्स र समिट एयरलाइन्स दुवैले सेवा रोकेका छन्।
जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरले अघिल्लो सातादेखि नै उडान रोकेको थियो भने समिट एयरले पनि सोमबारदेखि नियमित उडान बन्द गरेको हो।
सामान्यतया यहाँ अगस्टदेखि नोभेम्बरसम्म नियमित हवाई सेवा सञ्चालन हुने गर्दछ।
वायुसेवा कम्पनीहरूका अनुसार जहाज मर्मत र पछिल्लो समय यात्रुको अभावका कारण उडान स्थगित गर्नुपरेको हो। तारा एयरका तीनमध्ये एउटा जहाज हाल मर्मतमा छ भने समिटका चारमध्ये एउटा जहाज मर्मतका लागि पठाउने तयारी छ।
अर्कोतर्फ, रसुवाको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण पर्यटक आवागमन प्रभावित भएको छ।
सडक अवरुद्ध भएपछि धेरैजसो यात्रुले अग्रिम टिकट (बुकिङ) रद्द गरेकाले पनि नियमित उडान रोक्नुपरेको समिट एयरलाइन्सका जोमसोम स्टेसन इन्चार्ज सुमन थकालीले बताए। यद्यपि, आवश्यकता अनुसार चार्टर उडान भने सुचारु नै रहने उनले जानकारी दिए।
यी दुई कम्पनीले बर्सेनि दुई पर्यटकीय याममा गरी पोखरा–जोमसोम रुटमा १ हजार २०० भन्दा बढी नियमित उडान भर्दै आएका छन्।
अनुकूल मौसम र पर्यटकीय सिजनकै बीच उडान रोकिँदा मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमणमा जाने पर्यटकहरू प्रभावित हुने भएका छन्।
कात्तिक २, २०८३ सोमबार २२:२४:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।